गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्श

प्रताप बानियाँ
म्याग्दी, मंगलबार फागुन २८ गते । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्शसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गर्भावस्थामा अण्डाको उपभोगमा वृद्धि गर्न र स्वास्थ्य संस्थामा नियमित रुपमा चेकजाँचका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।

बेनपा–२, ज्यामरुककोट वडा कार्यालयको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको स्वास्थ्यचौकीले जनाएको छ । कार्यक्रममा गर्भवती महिलाहरुलाई गर्भावस्थामा देखापर्न सक्ने खतराका लक्षणहरु र अपनाउनुपर्ने सावधानीका व्यवहार, गर्भावस्थामा अण्डा र आयोडिन नुनको महत्व, सुनौलो हजार दिनको अवस्थामा पोषणको महत्वका विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रमको स्वास्थ्यचौकीका अनमी करुणा थापा, सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुन र फिल्ड सुपरभाइजर रामबहादुर खड्काले सहजीकरण गरेका थिए । वडा अध्यक्ष हिराबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सुआहाराका कार्यक्रम संयोजक चिरञ्जीवी दाहालले सुआहारा कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उनले सुआहाराले प्रवद्र्धन गरेका व्यवहारहरुलाई वडाले अनुसरण गरी कार्यक्रम गरेकोमा निरन्तरता दिन आग्रह गर्दै अन्य स्थानीय तहले पनि पोषणसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा जोड दिनुपर्ने बताएका छन् ।

वडा अध्यक्ष थापाले वडाभित्र रहेका गर्भवती महिलाहरुलाई लक्षित गरेर पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले वडाभित्र ‘बिहेबारी, २० वर्षपारी’ भन्ने अभियानलाई जोड दिने बताउँदै २० वर्ष उमेर पुरा नगरी बिहे गरेर वडा कार्यालयमा विवाह दर्ता गराउन आएमा कानुन अनुसार बिहे दर्ता नहुने भएकाले यसलाई समुदायमा चेतनामूलक रुपमा फैलाउने बताए ।

कार्यक्रमको अवसरमा २७ जना गर्भवती महिलाहरुलाई एकएक क्रेट अण्डा र एकएक पोका आयोडिनयुक्त नुन वितरण गरिएको थियो । वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष थापाको अध्यक्षता, स्वास्थ्यचौकी प्रमुख होमनाथ गौतमको सञ्चालन र स्वास्थ्यकर्मी राधादेवी रानाको स्वागतमा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका गौमती नेपाली र ममता कुँवरले मन्तव्य राखेका थिए ।

गर्भावस्थामा नियमित अण्डाको प्रयोगले बच्चाको दिमागको वृद्धि विकास, भुणको विकास र रोगसँग लड्ने सक्ने क्षमताको समेत विकास हुन्छ । यसैगरी आयोडिनयुक्त नुनको सेवनले निरोगी र स्वस्थ बच्चा जन्मिनुका साथै आयोडिनको कमीले हुनसक्ने रोगबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार