जनमतको कदर गरौं,पक्षपाती व्यवहार नगरौं ः नगरप्रमुख श्रेष्ठ

धु्रबसागर शर्मा
बेनी बुधबार चैत्र ६ गते । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ ।


बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेको फागुपूर्णिमा मेला तथा अमर स्मृति भलिबल प्रतियोगिता,क्लवको नवनिर्मित भवन र भगवती आमा समूहको भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नगरप्रमुख श्रेष्ठले वडामा विनियोजन भएको बजेट जनताले अनुमोदन गरेका कार्यक्रममा मात्र खर्च गर्नुपर्ने बताउँदै आफू खुसी कसैले पनि बजेट खर्च गरेर दुरुपयोग गर्न नहुने स्पष्ट पार्नुभयो । ‘जनप्रतिनिधिले आफ्नो वडाका सबै जनतालाई समानरुपमा व्यवहार गर्नुपर्छ’ श्रेष्ठले भन्नुभयो‘कसैलाई आवश्यकता भन्दा बढी बजेट दिने र कसैलाई कत्ति पनि बजेट नदिनु अन्याय हो ।’

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले फापरखेतका महिलाहरुले मासिकरुपमा उठाएको पैसाले आमा समूहको भवन बनाएर उदाहरणीय काम गरेको बताउँदै कतैबाट कुनै पनि सहयोग नपाउनु दुखद पक्ष हो भन्नुभयो ।


भगवती आमा समूहकी सचिव रमिता घिमिरेले वडा कार्यालयले सहयोग गर्नु त परै जाओस् सिफारिस समेत नदिएको बताउँदै एउटै वडामा पनि कतै प्रशस्त सहयोग गर्ने र कतै गर्दै नगर्ने प्रवृत्ति प्रति कटाक्ष गर्नुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका सचिव क्या.मीनवहादुर कार्कीले ज्यामरुककोटमा प्रशस्तै सम्भावनाहरु भएर पनि ती सम्भावनाहरुको सदुपयोग हुन नसकेको,जनप्रतिनिधिहरुको व्यवहार र कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताउँदै जनप्रतिनिधिले सबैलाई समान व्यवहार गर्नुपर्ने र सबैको अस्तित्व स्वीकार्नु पर्छ भन्नुभयो ।


कार्यक्रममा खड्गभवानी कोट तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे, अर्जुन माविका निवर्तमान प्रधानाध्यापक टीकाबहादुर कार्की, भूतपूर्व वडाअध्यक्ष डिलवहादुर घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा नगरप्रमुख श्रेष्ठले युवा क्लवको भवन र उपप्रमुख बरुवालले आमा समूहको भवनको उद्घाटन समेत गर्नुभयो ।
फापरखेते युबाहरुको पहलमा २०५६ सालमा स्थापना भएको प्रतिभा युवा क्लवले मेलाको आयोजना गरेको मेलामा भलिबल,छेलो फाल्ने, लठ्ठो तान्ने लगाएतका प्रतियोगिता र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिएको छ । प्रतियोगिताको समापन विहीबार गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय छात्राहरुले नृत्य प्रस्तुत गर्नुका साथै कलाकार अमित विश्वकर्मा,रबी कार्की, धु्रब जिसी लगाएत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहेको थियो ।


कार्यक्रम क्लवका अध्यक्ष यामवहादुर कार्कीको अध्यक्षता,टीकाबहादुर कार्कीको स्वागत र भीमवहादुर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
सोही अवसरमा ८४ वसन्त पार गरेका ७ जना जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार