झोलुङ्गे पुल निर्माण भएपछि २ घण्टाको बाटो १५ मिनेटमै छोटिइयो (भिडियो सहित )

बेनी,आइतबार चैत १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ काउलेगौँडा जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुबै तर्फको थाकानको डिलमाथि बनाईएको यो पुल १२१ मिटर लामो छ ।


सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत पुल निर्माणको लागि थानी–बिएलटी जेभिसंग रु ५९ लाखमा सम्झौता भएको थियो । गत साउनमा साढे एक बर्षमा पुल निर्माण गर्ने सम्झौता भएपनि १० महिना अगाडिनै योजना सम्पन्न गरेको निर्माण कम्पनीका तिर्थराम खड्काले बताउनुभयो ।
दुई स्थानीय तह जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएपछि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट सहित वडा नम्बर ३ पिप्ले, २ भगवतीका स्थानीय र बेनी नगरपालिका–९ काउलेगौडा, तोरीपानी, न्याप्टेचौर, बेनपा–१० पात्लेखेत लगायतका ठाउँका स्थानीयलाई वारपारको लागि सहज भएको छ ।


पुल निर्माणले झण्डै साढे २ घण्टाको पदयात्रा १५ मिनेटमै छोटिएको पुल निर्माण योजनाका समन्वयकर्ता बालकृष्ण सुवेदीले बताउनुभयो । नेकपा म्याग्दीका नेता समेत रहनुभएका सुवेदीले रघुगंगा नदीमाथि निर्माण भएको अग्लो पुल सदरमुकाम बेनी देखि नजिकको दुरीमा रहेको र पुलबाट रघुगंगा नदी, वरीपरी हरियाली जंगलको मनोरम दृष्य अवलोकन गर्न सकिने भएकाले पर्यटकीय दृष्टिकोणमा समेत सम्भावना बढाएको बताउनुभयो ।


झोलुङ्गे पुल बनेपछि वारपारमा घण्टौ टाढाबाट घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता हटेको काउलेगौँडाका स्थानीय शेर पुरीले बताउनुभयो । दुबै तर्फका स्थानीय वारपारको लागि गलेश्वर पुगेर घुमाउरो बाटो हुँदै वारपार गर्नुपर्ने बाध्यता पुल निर्माण संगै हटेपछि स्थानीयमा खुसीयाली छाएको छ । रघुगंगा नदी माथिको अग्लो पुल अवलोकनको लागि अहिले प्रभावित क्षेत्रका स्थानीयको दैनिक भिड लाग्न थालेको छ ।


तत्कालिन गाउँ र इलाका परिषद हुँदै जिल्ला परिषदले समेत ८ बर्ष अघि नै योजना माग गरेको भएपनि विविध कारणले पुल निर्माण सुरु हुन सकेको थिएन् । पुल बनेसंगै थाकनको डिलमा रहेको समथर फाँटलाई बनभोज स्थलको रुपमा विकास गर्न सकिने सम्भावना बढेको छ । अग्लो पुलको अवलोकनको लागि पुग्नुभएका लाल बहादुर विकले यो पुल विकास निर्माणले जनतामा पार्ने सकरात्मक प्रभाब र राहतको नमुना बनेको पाईएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार