धवलागिरीमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

प्रताप बानियाँ
म्याग्दी, शनिबार चैत्र १६ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प सुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो ।

बच्चा जन्मिएको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको धौलागिरी गाउँपालिकाले जनाएको छ । कार्यक्रम अन्तर्गत शुक्रबार धवलागिरी–३, मुनामा कुपोषण पत्ता लगाउन २१ जना बच्चाहरुको मुआक नापजाँच गरिएकोमा सबै बालबालिकाहरुको मध्यम अवस्था रहेको पाइएको सुआहाराका फिल्ड सुपरभाइजर चन्द्रकला बानियाँले बताइन् ।

उनका अनुसार धवलागिरीको अधिकांश वडाहरुमा बिहीबार र शुक्रबार कार्यक्रम गरिएको छ भने वडाभित्रका केही टोल वस्तीमा कार्यक्रम सञ्चालन भैरहेको छ । यसैगरी धवलागिरी–१, गूर्जामा भने आइतबार र सोमबार कार्यक्रम हुने आयोजकले जनाएका छन् । मुनामा सम्पन्न गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, लक्षित समूहका महिला तथा बालबालिका लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा पोसिलो खाना प्रदर्शनी समेत गरिएको थियो ।

बच्चामा कुपोषण भएनभएको अवस्था पत्ता लगाइसकेपछि उसलाई पोषणयुक्त खानपानको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षण र परिवारलाई परामर्श दिइने कार्यक्रमहरु रहेको जनाइएको छ । त्यस्तै धवलागिरी–७, ताकममा सञ्चालन गरिएको क्याम्पमा ३ जना बालिकाहरुमा कुपोषण भएको भेटिइएको ताकम स्वास्थ्यचौकीका इन्चार्ज सम्झना खाती क्षत्रीले जानकारी दिएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार