बालमन्दिर आधारभूत विद्यालयमा नवनिर्मित १० कोठे भवनको उद्घाटन (फोटोफिचर)

प्रताप बानियाँ
म्याग्दी, आइतबार फागुन १९ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा हालै बनाइएको १० कोठे विद्यालय भवनको आइतबार उद्घाटन भएको छ । ग्लोबल एजुकेशन फर अल फाउण्डेशन दक्षिण कोरिया, स्थानीयवासी, बेनी नगरपालिका र वडा कार्यालयको सहयोगमा नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

भवनको उद्घाटन गर्दै ग्लोबल एजुकेशन फर अल फाउण्डेशन रिपब्लिक अफ दक्षिण कोरियाका डाईरेक्टर चो ताई योङ्गले आफ्नो संस्थामार्फत दशौं स्कुलका रुपमा बालमन्दिर आधारभूत विद्यालयको भवन निर्माणमा आर्थिक सहयोग गरिएको बताए । उनले समुदायको सक्रियतामा विद्यालय भवन निर्माणसम्पन्न भएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा पनि विद्यालयलाई थप सहयोग गर्ने बताएका छन् ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिकाले शैक्षिक विकासमा जोड दिएको बताउँदै गुणस्तरीय शिक्षाका लागि सरोकारवाला सबै लाग्नुपर्ने बताए । ग्लोबल एजुकेशन फर अल फाउण्डेशन फर नेपालका अध्यक्ष उद्धवप्रसाद उप्रेती र मोना आइईसीका एसिया प्यासिफिक संयोजक तथा विद्यालयका भूतपूर्व विद्यार्थी विनोद कुँवरले भवन निर्माणमा सहयोग गर्न प्रवासमा रहेर पनि आवश्यक सबै प्रयासहरु गरिएको बताउँदै नवनिर्मित विद्यालय भवनको सही प्रयोग र संरक्षणका लागि समुदायले चासो दिनुपर्नेमा जोड दिए ।

१०३ फिट लम्बाई, ३५ फिट चौडाई र दुईतले पक्की विद्यालय भवन निर्माणका लागि ग्लोबल एजुकेशन फर अल फाउण्डेशनले ४० लाख, स्थानीय चन्दादाताबाट ३५ लाख ५५ हजार आठसय ९५, बेनी नगरपालिका र बेनपा–४, को वडा कार्यालयमार्फत क्रमशः १४÷१४ लाख रुपैयाँ सहयोग भएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म भवन निर्माणका लागि ८३ लाख छ हजार दुईसय ४४ र जग्गा खरिद गर्न २१ लाख ३४ हजार छ सय ३० रुपैयाँ खर्च भएको छ । भूकम्प प्रतिरोधी बनाइएको उक्त भवनमा १० ओटा कोठा रहेका छन्भने भुइँतलमा युरिनलसहित २ वटा शौचालय र माथिल्लो तलामा तीनवटा शौचालय कोठा निर्माणाधीन अवस्थामा रहेको प्रअ शर्माले बताएका छन् । ग्लोबल एजुकेशन अल फाउण्डेशन कोरियामार्फत आर्थिक सहयोग जुटाउन विनोद कुँवर र संगिता कार्की कुँवरले विशेष पहल गरेका थिए ।

यसैगरी भवन निर्माणलाई रकम जुटाउन डाँडाखेत घरभई हाल रोजगारको सिलसिलामा कोरिया, अस्टेलिया, पोर्चुगल, अमेरिका र कतारमा रहेका प्रवासी नेपालीहरुले आर्थिक सङ्कलनमा सहयोग पु¥याएका थिए । कक्षा १ देखि ८ सम्म अध्ययन÷अध्यापन हुँदै आइरहेको विद्यालयमा हाल १ सय ५४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्भने ११ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।

कार्यक्रममा विद्यालयका प्रअ रामप्रसाद शर्माले विद्यालय भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर बानियाँको अध्यक्षता, विव्यस सदस्य तथा आर्थिक सङ्कलन संयोजक सुमन बानियाँको सञ्चालन र शिक्षक अर्जुन खत्रीको स्वागतमा सम्पन्न भएको थियो । २०७३ साल फागुन २५ गते साँझ अचानक विद्यालयमा विद्युत सर्ट हुँदा विद्यालय भवन आगलागीले जलेपछि नयाँ भवन निर्माणका लागि अभियान थालिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार