म्याग्दीमा पाँच वटा सहकारी मर्ज (भिडियो सहित )

साधन राम्जाली
दरबाङ आइतबार फागुन २६ गते । म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु एक आपसमा मर्ज भएका छन् । आइतबार मालिका गाउँपालिकाको दरवाङमा विशेष एकिकरण साधारण सभा गरि एक आपसमा मर्ज भएका हुन् । मर्ज हुनेमा दरबाङ स्थित पश्चिम दरवाङ, फुलबारी, सदरमुकाम बेनीको कामना , मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच एक आपसमा मर्ज भएका हुन् ।

दरबाङमा भएको एकिकृत साधारणसभाबाट सुरेन्द्रराज शर्माको अध्यक्षतामा भिमप्रसाद गौतम (जिवन) उपाध्यक्ष, हरिप्रसाद पौडेल सचिव, कृष्णप्रसाद आचार्य कोषाध्यक्ष र थमन गौतम सहसचिव रहनुभएको ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

सदस्यहरुमा दुर्गाप्रसाद बुढा, देवबहादुर घले, मायादेवी शर्मा, हरिकला थापा, प्रेम विश्वकर्मा र सूवर्ण रिजाल चयन हुनुभएको प्रबन्धक सदन कडेलले जानकारी दिनुभयो । रिमप्रकाश थापाको संयोजकत्वमा जालामाया हमाल बुढाथोकी र दिपक पौडेल सदस्य रहनुभएको लेखा तथा भिमप्रसाद गौतमको संयोजकत्वमा दिवाकर सुवेदी र कमलनाथ शर्मा सदस्य रहनुभएको ऋण उपसमिति गठन भएको छ ।

तीन हजार ८०० जना सदस्यको पाँच करोड ७९ लाख ३८ हजार १०९ रुपैयाँ सेयर पुजी रहेको सहकारीको चालू आर्थिक वर्षको हालसम्मको निक्षेप संकलन तीस करोड ६५ लाख २३ हजार ८८५ र ३२ करोड ७० लाख दुई हजार ४५० रुपैयाँ कर्जा लगानी रहेको लेखापाल सन्तोष शर्माले जानकारी दिनुभयो ।

भिडियो हर्नुहोस्

म्याग्दी जिल्लाभर कार्यक्षेत्रको अनुमती पाएको सहकारीले ग्रामिण बजारबाटै मोवाइल, सफ्टवयर लगायत अत्याधुनिक प्रबिधीको प्रयोग गरेर सेवा प्रवाह गरेको लेखापाल शर्माले बताउनुभयो । साधारणसभाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेक बहादुर थापाले सहकारी उत्पादन मैत्रि बन्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले प्रदेशमा रहेका तीन हजार ५०० सहकारीसँग रहेको ३५ अर्ब रुपैयाँ भन्दा बढी पुँजीलाई उत्पादनमा लगाउन आवश्यक नीति तय गरिसकिएको जानकारी दिनुभयो ।
मन्त्री थापाले १ घर, १ सेयर, १ सहकारी एक उत्पादन जस्ता कार्यक्रम मार्फत कृषि र पशुजन्य बस्तुको उत्पादन वृद्धी गरी कृषिमा आत्मनिर्भर बनाउने योजना बनाएको बताउनुभयो । उहाँले जमिन बाँझो राख्नेलाई दोब्बर कर लगाउने, भूमि बैङ्क स्थापना गर्ने तयारी भएको, सहकारीको बर्गीकरण गरिने बताउनुभयो ।

गण्डकी प्रदेशका सांसद बिनोद केसीले प्रदेशको सहकारी ऐनमा सहकारी संस्थाले तीस प्रतिशत कृषिमा अनिवार्य लगानी गर्नुपर्ने, दोहोरिएर सदस्य हुन नपाउने, बचत र ऋणको अनुपात पाँच प्रतिशत भन्दा बढी हुन नपाउने, एकिकरण हुने र उत्पादनमा तोकिएको लगानी गर्ने सहकारीलाई अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सहकारी संस्थाहरु उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन गर्न स्थानीय तहमा सहकारी हेर्ने कर्मचारीको आवश्यकता रहेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका कृषि उपजको बजारीकरणका लागि पालिकाले सडक स्तरोन्नती गर्न लागेको जानकारी दिनुभयो ।

प्रदेशका सहकारी प्रमुख बद्रिनाथ अधिकारीले प्रदेशको सहकारी ऐनको बारेमा जानकारी गराउँदै कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार रामचन्द्र गौतम, वडा अध्यक्ष सन्तनाथ सुवेदी, कामना सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, सचिव बालकृष्ण शर्माको सञ्चालन र उपाध्यक्ष भिमप्रसाद गौतमको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि दरवाङ र पश्चिम म्याग्दी सहकारी संस्था एकिकरण भएका थिए । संस्थाको नाम पश्चिम दरवाङ बचत तथा ऋण सहकारी राख्ने एकिकृत साधारणसभाले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार