म्याग्दीमा स्वास्थ्य कार्यालय स्थापना

कमल खत्री

बेनी बिहिबार चैत १४ गते । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । संघियता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरि पुनः स्थापना भएको हो ।

नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवी पुनले बुधवार उद्घाटन गर्नुभयो । कार्यालयमा जनस्वास्थ्य अधिकृत सहित ११ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकार मातहत रहेका जिल्लाका स्वास्थ्य संस्थाहरुमा प्राविधिक सहयोग, कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता विकास, तालिम सञ्चालन, औषधी आपुर्ति संगै अन्तरपालिका समन्वयको काम गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भिमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

कार्यालयलाई यस बर्ष प्रदेश सरकार मार्फत कुल रु १ करोड ८४ लाख बजेट प्राप्त भएको छ । कार्यालयको उद्घाटन गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशिल रहेकाले जनतालाई सरल र सहज तवरले सेवा प्रवाहको लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताउनभयो ।

उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै स्वास्थ्य कार्यालयलाई स्थानीय तहसंग समन्वय गरि कार्यक्रमलाई प्रभाबकारी बनाउन सुझाब दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, सामाजिक विकास मन्त्रालयका सचिब दिर्घनारायण पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल र बेनी अस्पतालका निमित्त प्रमुख डाक्टर मनोज घिमिरेले कार्यालय स्थापनाले जिल्लाको स्वास्थ्य क्षेत्रलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन लिलानाथ पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार