युवाहरुको पहलमा निर्माण भएको खेलमैदान र युवा क्लवको भवन उद्घाटन

सानालेखमा महाशिवरात्री मेला शुरु

धु्रबसागर शर्मा
म्याग्दी शनिबार फागुन १८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा दोस्रो महाशिवरात्री मेला एवम् विविध सांस्कृतिक कार्यक्रम २०७५ शुक्रवारदेखि शुरु भएको छ ।

सानालेखको लेखसाइड युथ क्लवको आयोजनामा शुरु भएको मेला एवम् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद विनोद केसीले युवाहरु जागरुक र अनुशासित भएर लाग्ने हो भने समाज र देशको समृद्धि कुर्न धेरै समय नलाग्ने बताउनुभएको छ । उहाँले क्लबको अगुवाईमा सामुदायिक भवन, खेलमैदान निर्माण हुनुले अन्य ठाउँका युवाहरुलाई समेत सामाजिक कार्यमा लाग्न प्रेरित गरेको बताउनुभयो ।

सांसद केसीले बेनी हुँदै लभ्लीहिल, ज्यामरुकोट हुँदै बागलुङ्गको पञ्चकोटलाई धार्मिक र पर्यटकीय मार्गको रुपमा जोड्नको लागि स्थानीय तह, प्रदेश र संघीय सरकार मार्फत एकिकृत रुपमा पहल हुनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सरकारले संघीयताको संस्थागत विकाससंगै स्थानीयतहहरुलाई समृद्ध र सम्पन्न बनाउन विभिन्न किसिमका कार्यक्रमहरु ल्याउन लागेको बताउँदै सांसद केसीले देश विकासको गतिमा तीब्ररुपमा अघि वढिरहेको छ भन्नुभयो ।

सोही कार्यक्रममा विशिष्ट अतिथी बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बेनी नगरपालिकाले नगर क्षेत्र भित्रका ग्रामिण सडकहरुको स्तरोन्नति र जनताको जीवनस्तर वृद्धि हुने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताउनुभयो । त्यसैगरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विकले समाजमा युवाहरु जागरुक र समाजप्रति जिम्मेवारी बोध गर्ने खालका हुने हो भने सामाजिक विकृतिहरुको अन्त्य हुने बताउँदै खेलकुदको माध्यमद्धारा युवाहरुमा रहेको प्रतिभालाई उजागर गर्न र अवसर सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो ।

बेनी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठले सदरमुकाम बेनीबजारसंग जोडिएको ज्यामरुककोटमा प्रशस्तै धार्मिक र पर्यटकीय सम्भावनाहरु रहेका बताउँदै ती सम्भावनाहरुमार्फत जीवनस्तर सहज बनाउन स्थानीय जनप्रतिनिधि र जनताले संयुक्तरुपमा पहल गर्नुपर्छ भन्नुभयो । सोही अवसरमा क्लवले दुईजना जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन समेत गरेको छ । सानालेखका ८७ वर्षिय भीमप्रसाद शर्मा र ८१ वर्षिया भद्रकली सुवेदीलाई दोसल्ला र सम्मानपत्रले अभिनन्दन गरेको हो ।
सोही अवसरमा सांसद केसीले क्लवको नवनिर्मित भवनको र भलिवल प्रतियोगिताको उद्घाटन समेत गर्नुभयो । स्थानीय आमासमूहले रत्यौली समेत गाएर कार्यक्रमलाई रोचक बनाएका थिए । बेनी नगरपालिकाको रु ४ लाख ८२ हजार ५०० अनुदानमा स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीले चन्दा संकलन र श्रमदान गरि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न मिल्ने स्टेज सहितको भवन निर्माण गरेका हुन् । भवन निर्माणमा साढे ६ लाख बढी खर्च भएको क्लबले जनाएको छ ।

फागुन २० गतेसम्म संचालन हुने सो मेलाको उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष कृष्ण थापाको अध्यक्षता,क्लवका सल्लाहाकार एवम् बेनपा २ का वडाअध्यक्ष हिराबहादुर थापाको स्वागत र स्थानीय हरिप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । खेलमैदान र क्लवको भवन निर्माणका लागि देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुले आर्थिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार