राखुपिप्ले स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना

केन्द्रमार्फत बालबालिकामा रहेको कुपोषण घटाइने

म्याग्दी, शनिबार फागुन १८ गते ।उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, स्थित राखुपिप्ले स्वास्थ्यचौकीमा शुक्रबार बहिरङ्ग उपचार केन्द्र स्थापना भएको छ । रघुगंगा गाउँपालिका र वडा कार्यालयको पहलमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा बहिरङ्ग उपचार केन्द्रको स्थापना गरिएको हो ।

बहिरङ्ग उपचार केन्द्र स्थापना कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य अवस्था सुधार गर्नका लागि जोड दिइएको बताएका छन् । उनले बालबालिकामा रहेको कुपोषण घटाउन गाउँपालिकामार्फत आवश्यक बजेटको व्यवस्थापन गरेर स्वास्थ्य अवस्था सुधार गरिने बताउँदै आफ्नो र बालबालिकाहरुको स्वास्थ्यलाई स्वस्थ राख्न खानपान र सरसफाइलाई ध्यान दिन सुझाव दिए ।

वडा अध्यक्ष जीवनकुमार मल्लले स्वास्थ्य नै धन भएको हुँदा नियमित रुपमा स्वास्थ्य संस्थामा पुगेर चेकजाँच गराउनुपर्ने बताउँदै वडामा रहेको कुपोषण घटाउन तत्कालका लागि ५० हजार रुपैयाँ विनियोजन गर्ने घोषणा गरेका छन् । सुआहारा कार्यक्रमका संयोजक चिरञ्जीवी दाहालले नेपालको ४२ जिल्लामा सुआहारा कार्यक्रम सञ्चालन भैरहेको जानकारी दिँदै म्याग्दीको ४५ ओटै वडामा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले कार्यक्रममार्फत समुदायस्तमा स्वास्थ्य र पोषणसम्बन्धी विभिन्न गतिविधिहरु गरिएको हुँदा स्थानीय तहले पनि सहयोग गर्नुपर्ने बताएका थिए ।

रघुगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाबहादुर शाहीले पिप्लेमा मात्रै ६ जना कुपोषित बालबालिकाहरु भेटिएको बताउँदै बालबालिकाहरुलाई स्वस्थ र निरोगी राख्न पोषणयुक्त खानेकुरामा जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका यामकुमारी गर्बुजा र नेशनल लाईफ ईन्स्योरेन्सका एजेण्ट सपना मल्लले मन्तव्य राखेका थिए । कार्यक्रम वडाध्यक्ष मल्लको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज अब्दुल खबिर राईको स्वागत र सुआहाराका फिल्ड सुपरभाइजर रतिका मिजारको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसअघि सुआहारा कार्यक्रमको सहयोगमा म्याग्दी जिल्लाको १३ ओटा स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना गरिसकिएको छ । रघुगंगा–६, पाखापानी र ७ चिमखोलामा केन्द्र स्थापना गरिए पनि बेगखोला, भगवती, पिप्ले र दग्नामलाई दुरीका हिसाबले सेवा लिन टाढा भएपछि गाउँपालिकाको पहलमा पिप्ले स्वास्थ्यचौकीमा केन्द्र स्थापना गरिएको बताइएको छ । बहिरङ्ग उपचार केन्द्रमार्फत बच्चाको पोषण अवस्थाको चेकजाँच, शीघ्र कुपोषित बच्चा भेटिएमा तयार पारिएको उपचारात्मक खाना दिइनुका साथै कुपोषण न्युनीकरण गर्न आवश्यक परामर्शसम्बन्धी सेवाहरु उपलब्ध गराइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार