खिवाङका अगुवा पुनको भिरबाट लडेर मृत्यु

बेनी बुधबार चैत्र २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने नाउराको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बगर देखि खिवाङ जाने क्रममा नाउराको भिरबाट लडेर खिवाङका ५० वर्षीय जितबहादुर पुनको मंगलबार मृत्यु भएको छ ।

बगरको तातोपानी कुण्डमा स्नान गरेर घर फर्कने क्रममा पुन नाउराको भिरबाट करिब तीन सय मिटर तल खस्नुभएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ ।

साघुँरो बाटोमा हिड्ने क्रममा झुक्किएर भिरबाट खसेको प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताउनुभयो ।

खिवाङ स्थित चन्द्रज्योती माविको व्यवस्थापन समितिका अध्यक्ष, बाघराज बिल्डर्सका अध्यक्ष, अपर म्याग्दीखोला जलविद्युत आयोजनाको निर्देशक रहनुभएका स्व।पुन धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनका सहोदय कान्छा दाजु हुनुहुन्छ ।

बेलायती गोर्खा सैनिकका सेवा निवृत पुन केही वर्षयता गाउँ फर्किएर जलविद्युत आयोजना, गाउँको विकास निर्माण, व्यवसायिक सुन्तला खेतीका साथै सामाजिक काममा सक्रिय हुनुभएको थियो ।

गाउँका अगुवा पुनको निधनले खिवाङबासी शोकमा डुवेका छन् । धौलागिरी चक्रीय पदमार्ग अन्तरगत पर्ने अक्करे नाउराको भिर जोखिमयुक्त छ । यहाँ बर्षेनी दुर्घटना भएर स्थानीयबासी, पर्यटक र पर्यटक मजदुरहरुको ज्यान जाने गरेको छ ।

२०६४ अघिसम्म नाउराको भिरमा रसीमा झुण्डीएर हिड्नुपर्ने बाध्यता थियो । तत्कालीन माओवादीले दन्द्धकालमा स्थानीयबासी र पर्यटकको सहयोगमा पदमार्ग निर्माण सुरु गरेका थिए ।
शान्ति प्रक्रिया सुरुभएपछि तत्कालिन जिविस र नेपाली सेनाको सहयोगमा पदमार्ग बनाइएको थियो । पर्यटन मन्त्रालय र गाउँपालिकाले नाउराको भिरमा पदमार्ग मर्मतलाई निरन्तरता दिदै आएका छन् ।

करिब पाँच किलोमिटर दुरीको नाउराको भिर पार गर्न दुई घण्टा लाग्छ । फराकिलो र सुरक्षित पदमार्ग बनाउन करोडौको लगानी आवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार