पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउँछ ः नेता आचार्य

बेनी मंगलबार बैशाख ३ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम आचार्यले पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउने बताएका छन् । सोमबार नेकपा जिल्ला संयन्त्र म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै उनले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् ।

स्थायी कमिटी सदस्य आचार्यले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन आउँदो बैशाख ९ गतेसम्म एकताको सबै काम सकिने विश्वास व्यक्त गरे । उनले नेकपा ठूलो पार्टी भएकाले सिस्टमबाटै पार्टी एकताको सबै प्रक्रिया टुङ्ग्याइने बताउँदै स्थायी कमिटीको वैठक बसेर पार्टीको जिल्ला तहसम्मको एकताको सबै प्रक्रिया सक्ने तयारी भैरहेको जानकारी दिए ।

प्रदेश नम्बर १ का इन्चाज समेत रहेका नेता आचार्यले पार्टी एकीकरण टुङ्ग्याउनुको विकल्प नभएको भन्दै पार्टी एकता टुङ्ग्याउने उद्देश्यका साथ गृहकार्य भैरहेको पनि बताएका छन् । स्थायी कमिटीको वैठक बसेर निर्णय गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ । दुई कम्युनिष्ट पार्टीको कार्यदिशा र उद्देश्य एउटै भएपछि पार्टी एकता भएको उनले बताए ।

पूर्व पर्यटनमन्त्री समेत रहेका नेता आचार्यले विगतका सरकारहरुको तुलनामा वर्तमान सरकारले पाँचगुणा बढी काम गरेको दावी गरे । उनले विप्लव नेतृत्वको पार्टीलाई नभई उसका गतिविधि, संविधान र कानुनका विरुद्धमा भैरहेका गतिविधिहरुलाई सरकारले प्रतिबन्ध लगाएको बताउँदै देशविरुद्ध तराईमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको सिके राउत समूहलाई पनि वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याइएको बताए ।

संविधानलाई सार्वभौम बनाइएको, जनताको हातमा आएको शासनसत्ता, सङ्घीयता, धर्मनिरपेक्षताका विरुद्धमा जान नसकिने बताउँदै नेता आचार्यले अब फेरी कसका विरुद्धमा हतियार उठाउने ? भन्दै प्रतिप्रश्न गरेका छन् । सरकार परिवर्तन गर्न चाहे जनतामा गएर चुनावबाट परिवर्तन गर्न उनले चुनौती दिए । २०४६ सालपछि २६ वर्षको अवधिमा २२ वर्षसम्म देशको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दै आचार्यले दुई पटकसम्म बहुमत ल्याएको कांग्रेसले देश र नेपाली जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार