बेनीमा प्रथम पर्यटन महोत्सव सुरु

बेनी, २३ गते चैत । म्याग्दीको सदरमुकाम बेनीमो प्रथम पर्यटन महोत्सव सुरु भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव शनिबारदेखि खुल्लामञ्चमा सुरु भएको हो ।


रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ यही चैत २३ गतेदेखि २०७६ बैशाख १ गतेसम्म संचालन हुने पर्यटन महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद विनोद केसीले गरेका थिए ।
उद्घाटन कार्यक्तममा सांसद केसीले रेडियोद्धारा आयोजित पर्यटन महोत्सवको सफलताको उद्घोष गर्दैै गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन, जलस्रोत, उद्योग र कृषि भएको बताए । सुखी नेपाली समृद्ध नेपाल भन्ने मुल नारालाई सफल बनाउनल प्रदेशले यी चार क्षेत्रको विकासका लागि नीति नियम निर्माणमा प्राथमिकता दिएको बताए । उनले जिल्लाको दिगो विकासको आधार पर्यटन र स्थानीय कृषि उत्पादनको बृद्धि बजार ब्यवस्थापनका लागि प्रचारप्रसारको आवश्यक रहेको बताए । उनले रेडियोले जिल्लाको हर क्षेत्रको विकासका महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउदै सबैको साथ र सहयोगले महोत्सवको उद्देश्य पुरा हुने बताए ।


त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको चौतर्फी विकासको लागि सहयोग पु¥याउने प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको प्रचारप्रसार गर्न पर्यटन महोत्सव आवश्यक रहेको बताउदै महोत्सवको सफलताको शुभकामना दिएका थिए । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेपाली काग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्वुजाले संचार क्षेत्रलाई दिगो र गुणस्तर बनाउन सबैको भुमिका महत्वपुर्ण हुनेमा जोड दिएका थिए ।


रेडियो म्याग्दीका संचालक समितिका उपाध्यक्ष मुकुन्द छन्त्याल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल र होटल ब्यवसायिक विमला गौचनले शुभकामना मन्तव्य राखेका थिए । भने रेडियो संचालक समितिका अध्यक्ष धनबहादुर छन्त्यालले महोत्सव आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए ।


प्रथम पर्यटन महोत्सव आयोजनाका मुल संयोजक चिरञ्जीवी शर्माको अध्यक्षता संचाल समितिका सचिव ठाकुरप्रसाद शर्माको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन रेडियोका स्टेशन संयोजक एवम् महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले गरेका थिए । कार्यक्तम सुरु अघि विभिन्न जातजातिहरुले साँस्कृतिक झाँकीसहित बेनीबजार परिक्रमा गरेका थिए ।
स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार