एकल महिला तथा सशक्तिकरण केन्द्रको अध्यक्षमा केसी निर्वाचित

प्रताप बानियाँ
म्याग्दी,बुधबार बैशाख २५ गते
। एकल महिला तथा सशक्तिकरण केन्द्र म्याग्दीको बुधबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट देवी केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । ‘एकल महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

केन्द्रको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा हिरा उपाध्याय, सहसचिवमा डोलकुमारी बानियाँ र कोषाध्यक्षमा शान्ति भट्टचन चयन भएको एकल महिला तथा सशक्तिकरण केन्द्र म्याग्दीले जनाएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा विश्वलक्ष्मी शाक्य, निरु भण्डारी, गंगा केसी र सविता शाही रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै एकल महिला तथा सशक्तिकरण केन्द्रका संस्थापक अध्यक्ष लिली थापाले आफ्नो हक तथा अधिकार प्राप्तिका लागि सङ्गठन आवश्यक रहेको बताइन् । उनले एकल महिलाको हक तथा अधिकारका लागि आफूहरुले नीतिनिर्माण तहमा आवश्यक कामहरु गरेको बताउँदै एकल महिलाका लागि व्यक्तिगत रुपमा २५ हजार र संस्थागत रुपमा पाँचलाख रुपैयाँ अनुदानको व्यवस्था रहेको जानकारी दिएकी छिन् ।

उनले एकल महिलाहरुलाई लक्षित गर्दै राष्ट्रपति महिला उत्थान कार्यक्रम र युवा स्वरोजगारका कार्यक्रममार्फत अनुदानको व्यवस्थापन गरिएको भन्दै एकल महिला सुरक्षा कोषमा करोडौं बजेट रहेकाले त्यसलाई परिचालन गर्न आवश्यक रहेकोमा जोड दिइन् । एकल महिला सबैभन्दा बलिया र सशक्त रहेको हुँदा कमजोर नठान्न चेतावनी दिँदै उनले देशका ७७ ओटै जिल्लामा एकल महिला सशक्तिकरण केन्द्र क्रियाशिल रहेकाले त्यसैमार्फत संघर्ष गरिने बताइन् ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगरपालिकामार्फत महिला लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै एकल महिलालाई प्राथमिकता दिइएको बताइन् । उनले एकल महिलाका लागि आवश्यक बजेट तथा कार्यक्रम माग गर्न आग्रह गर्दै आयआर्जन र व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्ने बताएकी थिइन् । एकल महिला तथा सशक्तिकरण केन्द्र गण्डकी प्रदेशका अध्यक्ष प्रमिला तच्चाले एकल महिलाका लागि राज्यबाट पाउनुपर्ने सेवासुविधामा कमी नै रहेकाले त्यसका लागि आवश्यक पहल गर्नुपर्ने बताइन् ।

कार्यक्रममा मानव अधिकार अभियन्ता मुक्ति ढुङ्गाना, प्रभु बैंक म्याग्दी शाखाका प्रवन्धक लालकुमारी खड्का, महारानी क्षेत्र विकास समितिका अध्यक्ष अमृतदेवी बानियाँ, सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य पशुपति शाही र साहित्यकार गणनाथ पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा आर्थिक सहयोग गर्नेलाई कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम एकल महिला तथा सशक्तिकरण केन्द्रका निवर्तमान जिल्ला अध्यक्ष बिमला गौचनको अध्यक्षता, उपाध्यक्ष देवी केसीको स्वागत र महिला अधिकारकर्मी हिरा उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार