कृषकहरुलाई तरकारी उत्पादनसम्बन्धी तालिम सञ्चालन

प्रताप बानियाँ
म्याग्दी, मंगलबार बैशाख ३१ गते ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिको आयोजनामा तरकारी खेती उत्पादनसम्बन्धी तालिम सुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा सोमबारदेखि सदरमुकाम बेनीमा व्यावसायिक कृषकहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो ।

कृषि तथा तरकारी खेतीमा लागेका कृषकहरुलाई थप व्यावसायिक बनाउने उद्देश्यसहित कृषिसम्बन्धी तालिम चलाइएको आयोजकले जनाएका छन् । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिका–६, का वडा अध्यक्ष एवं बेनपाका कृषि संयोजक कृष्णबहादुर बानियाँले कृषि तथा तरकारी खेतीमा रोजगारको सिर्जना गरेर विदेशिने युवाहरुलाई रोक्नुपर्ने बताएका थिए ।

उनले पछिल्लो समय कृषि तथा तरकारी खेतीमा बढ्दो विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर गरेको बताउँदै खेतबारीमा विषादीको प्रयोगलाई रोकेर अर्गानिक उत्पादन गर्नुपर्ने बताए । कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले कृषकलाई व्यावसायिक बनाई उत्पादन वृद्धि गर्ने र १ सय हेक्टर क्षेत्रफलमा तरकारी उत्पादनले ढाक्ने लक्ष्यका साथ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरिएको बताए ।

दुई दिनसम्म चल्ने तालिममा व्यवसायिक तरकारी खेती उत्पादन, प्लाष्टिकको घर निर्माण, त्यसभित्र तरकारी खेती उत्पादन, मौसमी तथा बेमौसमी तरकारी खेती, रोग किराको नियन्त्रण र विषादीरहित तरकारी उत्पादनका विषयहरुमा बागवानी विकास अधिकृत थापाले सहजीकरण गर्ने आयोजकले जनाएको छ । तालिममा २२ जना तरकारी उत्पादन गर्दै आइरहेका कृषकहरुको सहभागिता रहेको छ ।

कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिका अध्यक्ष मुक्तिबहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष अमृतदेवी बानियाँको स्वागत र सचिव सोभित शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । बेनी नगरपालिका अन्तर्गत रत्नेचौर, बगरफाँट, ठूलोखोला, फुर्केसल्ला, घतान र तोरीपानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारी खेतीमा सहयोग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार