घारमा सार्वजनिक सुनुवाई

सुरेन गुरुङ/घार, बुधबार जेठ १५ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजिकरणमा वडामा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका बारेमा वडा बासीहरुको प्रतिक्रिया,जिज्ञासा तथा सुझाव संकलन गर्ने उद्धेश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो ।

बुधबार संचालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुन ,प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्मा,वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल , स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल,पशु सेवा शाखा प्रमुख कृष्ण चौधरी,कृषी शाखा प्रमुख सम्झना खत्री, शिक्षा शाखाका प्रमुख भरतकुमार पुन र सामाजिक विकास शाखाका अधिकृत हरिकृष्ण आचार्यले स्थानिय वडा वासीहरुले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभएको थियो ।

स्थानियवासीहरुले पोखरेबगर–घार– शिख –घोरेपानी सडक निर्माणमा भएको ढिलाई प्रति गुनासो व्यक्त गर्नुभएको थियो । स्थानीय बासीहरुले आगामी योजना तथा कार्यक्रममा कृषी उत्पादनमा जोड दिन सुझाव दिनुभयो । उहाँहरुले कृषीलाई आधुनिकरण गर्न बजेट विनियोजन नगरेको,गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहमा प्रकृयागत झण्झटिलो ,सडक प्रभावितलाई राहत उपलव्ध गराउनुपर्ने,शिक्षालाई गुणस्तरीय बनाउनमा जोड दिनुपर्ने,स्वास्थ्य ,खानेपानी, विद्युत लोडसेडिङको अन्त्य लगायतमा जिज्ञासा सहित सुझाव दिएका थिए ।

गाउँपालिकाका अध्यक्ष गर्बुजा पुनले गाउँपालिकाले सेवा प्रवाहलाई छिटो ,छरिटो र चुस्त बनाउन कुनै पनि कसुर बाँकी नराख्ने र सेवा प्रवाहमा हुने प्रकृयागत झण्झटिलो हटाउन निति तथा ऐन निर्मााण गरि हेल्प डेस्क सेण्टरको व्यवस्था गर्न लागेको बताउनुभयो । उहाँले टुक्रे योजनालाई बस्ती स्तरबाट अन्त्य गरी प्रभावकारी हुने ठुला योजनालाई प्राथमिकता दिइने बताउनुभयो ।

अध्यक्ष क्याप्टेन गर्बुजा पुनले यो बर्ष सम्बोधन नभएका योजनाहरुलाई गाउँपालिकाले आगामी बार्षको कार्यक्रममा समावेश गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक प्रभावित पिडितहरुलाई आगामी कार्यक्रबाट सम्बोधन गर्ने जानकारी दिनुभयो । आगामी योजनामा शिक्षा ,स्वास्थ्य,विद्याुत,खानेपानी , सडक लगायत आधारभुत आवश्यकतालाई ध्यानमा राखी निती ,कार्यक्रम तथा योजना निर्मााणमा जुट्ने उद्घोष गर्नुभयो ।उहाँले विकास निर्माणमा गाउँपालिकाको एकल प्रयासले मात्र नभई स्थानिय बासीहरु पनि एक हुनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकामा पूर्वाधार निर्माण र अन्य कार्यक्रमहरु अधिकाँश सम्पन्न भैसकेको बताउनुभयो । बस्ती स्तरबाट गाउँपालिकाको सेवा प्रवाहको अबस्था र विकास निर्माण तथा कार्यक्रमको प्रभाबकारीतालाई बुझ्नको लागि हरेक वडामा सार्वजनिक सुनुवाई गर्न सुरु गरिएको प्रशासकिय अधिकृत शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं ६ का अध्यक्ष बरुवालले वडाका सबै बस्तीका योजनाहरुलाई कार्यान्वयनमा जुटेको बताउँदै आगामी बर्षको लागि दिगो र उपलब्धीमुलक योजनाहरुलाई प्राथमिकता दिईने बताउनुभयो ।

अध्यक्ष क्याप्टेन पुनको अध्यक्षता , म्याग्दी मिडिया सोसाईटीका उपाध्यक्ष हरिकृष्ण गौतम र सदस्य साधन राम्जालीको सहजिकरणमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा वडा नं ५ का अध्यक्ष दिनेश कुमार पुन,वडा नं २ का अध्यक्ष ओमबहादुर फगामी र कार्यपालिकाका सदस्य विष्णुकुमारी परियारले मन्तव्य व्यक्त गनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार