निर्माणाधिन मोटरेवल पुल बाढीले बगायो

बेनी , शनिबार जेठ ११ गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल शनिबार दिउसो आएको बाढीले बगाएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले बगाउँदा रु तीन करोड बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो करीब एक घण्टा लगातार परेको वर्षापछि आएको बाढीले निर्माणाधीन पुल बगाएको प्रत्यक्षदर्शी गङ्गा पुनले जानकारी दिए ।

बाढीका कारण वरपरका बस्ती कटानको जोखिममा परेका छन् । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । ४० मिटर लामो पुल निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र फेवा नयाँबाटो ९जेभी० जोइन्टभेञ्चरबीच विसं २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । रु पाँच करोड ७६ लाख ८० हजार ५५६ मा सम्झौता भएको पुल २०७५ असार २९ गते सम्पन्न गर्ने लक्ष्य थियो ।एघार मिटर फराकिलो पुलको गाडी हिँड्ने भाग शुक्रबार मात्र ढलान सकिएको थियो । दुईतर्फ मानिस हिँड्ने पेटी ढलान गर्न बाँकी भएको अवस्थामा बाढीले बगाएको निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले बताए ।

डाइभर्सन भत्काएर ढालन अड्याउन ठड्याइएको सटिङ बगाएपछि पुल भत्किएको हो । पुल बगाउँदा रु तीन करोड बराबरको क्षति भएको कार्कीको भनाइ छ । पुलको पिल्लर मात्र बाँकी छ ।आयोजनाका अनुसार यो पुल प्रिस्टिड प्रविधिको हो । हाल घट्टेखोलाबाटै सवारीसाधन आवतजावत गर्छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनका अनुसार बाढी आउँदा र बर्खाको समयमा सवारी आवतजावत बन्द हुने गरेको छ । रासस
तस्विर : इन्द्रशिंह शेरचन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार