पर्यटकीयस्थल टोड्केमा सामुदायिक रिसोर्टको उद्घाटन (फोटो फिचर)

म्याग्दी,अाइतबार बैशाख २९ गते । पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा निर्मित सामुदायिक लज शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा बनाइएको सामुदायिक लजको उद्घाटन गरिएको हो ।

प्रालिमार्फत निर्माण गरिएको लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन करोड रुपैयाँ लगानी गरेका छन् । रिसोर्टमा लगानी गर्नेहरुमा पूर्व झीँवासी, टोड्के, पूर्णगाउँ र डडुवाका स्थानीयवासिन्दा रहेका छन्भने अमेरिका, जापान, हङकङलगायत विदेशमा रहेकाहरुबाट शेयर लगानी गरिएको छ । गत वर्षको जेठ महिनादेखि रिसोर्टका लागि आवश्यक संरचना निर्माणको कार्य थालनी गरिएको थियो । लजमा न्युनतम एकलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म लगानी गरिएको छ । रिसोर्टको शनिबार एक कार्यक्रमकाबीच ९० वर्षीय बयोवृद्ध कमी गर्बुजाले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले पर्यटकीय क्षेत्रमा रिसोर्ट निर्माणसँगै जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहयोग पुग्ने बताए । उनले आर्थिक विकास र रोजगारी सिर्जनाका लागि कृषि, जलविद्युत र पर्यटनमा लगानीको आवश्यकता रहेकोमा जोड दिँदै सामूहिक लगानीमा निर्माण गरी सञ्चालनमा ल्याइएको रिसोर्टलाई आगामी दिनमा दीगो रुपमा अगाडि बढाउन सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र मंगलाका उपाध्यक्ष सिर्जना केसीले पर्यटकीय क्षेत्रमा निर्माण गरिएको लजको सुरक्षाका साथै स्थानीय उत्पादनको प्रवद्र्धन तथा सडक संरचनाको स्तरोन्नतिलगायत विकासका पूर्वाधारहरुको निर्माणमा जोड दिइने बताए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पर्यटन क्षेत्रमा भएको लगानीलाई सुरक्षित गर्न सरकार सधैं प्रतिबद्ध रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विरबहादुर थापा, क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, झीँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले मन्तव्य राखेका थिए । टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मिनबहादुर पाईजाको अध्यक्षता, सचिव भीम शेरचनको स्वागत र टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय कलाकारको सांस्कृतिक झाँकी प्रस्तुतीका साथै मगर समुदायले लोपोन्मुख पुर्खौली नृत्य प्रस्तुत गरेका थिए ।

खासगरी आन्तरिक पर्यटकलाई लक्षित गरी बनाइएको आधुनिक सुविधासम्पन्न रिसोर्टमा एट्याच बाथरुमसहित १० ओटा कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार, १० वटा टेन्ट हाउससहित करिब १ सय जनाको क्षमता रहेको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत डेढ घण्टाको यात्रापछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्केबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । टोड्केबाट बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छ । समुद्री सतहदेखि झण्डै २ हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकलाई लोभ्याउने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार