बंगुरपालन तथा कुखुरापालन तालिम सकियो

प्रताप बानियाँ
म्याग्दी, शनिबार बैशाख २१ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बंगुरपालन तथा कुखुरापालन तालिम शुक्रबार सकिएको छ । नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी, म्याग्दीको आयोजनामा गत सोमबारदेखि बंगुर तथा कुखुरापालन तालिम सञ्चालन गरिएको थियो ।

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको सहकारीले जनाएको छ । तालिम समापन सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले आर्थिक परनिर्भरताकै कारण समाजमा महिलाहरुमाथि हिंसा हुने गरेकाले आयआर्जन र व्यवसायिकमूलक क्षेत्रमा लाग्नुपर्ने बताइन् । उनले तालिम आत्मनिर्भर बन्न सहयोगी हुने बताउँदै तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्ने बताइन् ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष देवी केसी, तालिमका प्रशिक्षक पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेल, पत्रकार प्रताप बानियाँ, सहभागीद्वय उषा किसान र गोमा थापाले मन्तव्य राखेका थिए । तालिमको पशु चिकित्सक लक्ष्मीप्रसाद पौडेल र पशु स्वास्थ्य प्राविधिक प्रदीप गौतमले सहजीकरण गरेका थिए । ५ दिनसम्म चलेको तालिममा सहकारीमा आबद्ध दलित तथा विपन्न वर्गका ३० जना महिला शेयर सदस्यहरुले सहभागिता रहेको थियो ।

कार्यक्रमको अवसरमा तालिमका सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिमको समापनसत्र सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता र लेखा संयोजक पशुपति शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार