बन्दको प्रभाव ः कतै आंशिक कतै पूर्ण

धु्रबसागर शर्मा /म्याग्दी ,सोमबार जेठ १३ गते ।
विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण म्याग्दी सहित साविकको धौलागिरिका बागलुङ,पर्वत र मुस्ताङ जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण कतै आंशकि प्रभाव परेको छ भने कतै पूर्ण प्रभाव परेको देखिएको छ । सडकमा गाडी चलेका छैनन् भने वजार बन्द रहेका छन् ।

विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गर्न विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरुले हिजो दिउँसो नै फोन गरेर चेतावनी मिश्रित आग्रह गरेका थिए । म्याग्दीको सदरमुकाम बेनी बजारमा पसलहरु खुलेका छैनन् भने सडकमा गाडी चलेका छैनन् । बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

बागलुङ बजारमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् । सडक छेउमा टालोमा बेरिएको बम जस्तै देखिने वस्तु भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको छ । बागलुङका प्रहरी प्रमुख कृष्णहरी पोखरेलले दिएको जानकारी अनुसार शंकास्पदवस्तु वम हुन सक्ने आंशकाले प्रहरी त्यहाँ पुगेका हुन् ।

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दालाई लक्षित गरेर नेकपाका कार्यकर्ताले त्रास फैलाउन बम राखेको हुनसक्ने पोखरेलको आशंका छ । त्यसैगरी अर्घाखाँचीको सन्धीखर्कस्थित अर्घाखाँची आवासीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सन्धीखर्क २ चुत्रावेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवासीय माविको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भोजपुरमा आफ्नो कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई गोली हानेर हत्या गरेको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

नेकपाले जनघाती, राष्ट्रघाती, भ्रष्टाचारी सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार