बेनी नगरपालिकाबाट सञ्चालित विकासका योजनाहरुको स्थलगत अनुगमन

प्रताप बानियाँ
म्याग्दी, शुक्रबार जेठ १० गते – म्याग्दीको बेनी नगरपालिकाको कार्यालयबाट चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित विकासे योजनाहरुको अनुगमन सुरु भएको छ । नगरपालिकामार्फत विभिन्न वडामा सञ्चालित वार्षिक कार्यक्रम तथा योजनाहरुको स्थलगत अनुगमन गरिएको हो ।


यसैक्रममा बिहीबार बेनी नगरपालिका–५, पुलाचौर र ६ नम्बर वडा अर्थुङ्गेमा योजनाहरुको अनुगमन गरिएको बेनी नगरपालिकाको कार्यालयले जनाएको छ । बेनपाका उपप्रमुख एवं न्यायिक समिति सभापति सन्जु बरुवालको नेतृत्वमा ५ र ६ नम्बर वडाका विभिन्न स्थानमा सञ्चालित सडक निर्माण तथा स्तरोन्नति, विद्यालय भवन निर्माण र घेराबार, आमा समूहको भवन निर्माण, खेलमैदान एवं सडक ढलानका योजनाहरुको अनुगमन गरिएको थियो ।


बरुवाल नेतृत्वको अनुगमन टोलीले माझखेत–खोरगैरा छिपेछिपे सडक, ५ नम्बर वडाको पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीमा घेराबार तथा प्रवेशद्वार निर्माण र विद्यालय भवनमा थपिएको कोठाको अनुगमन गरेको छ । यसैगरी जनकल्याण माविमा निर्माणाधीन दुईतले ४ कोठ भवन, रङरोगन र भुइँ प्लाष्टर, शिवालय आमा समूह पुलाचौरको भवन निर्माण, बाँसबोट–एकपाटे सडक मर्मत, सडक बोर्डतर्फ बेनी–अर्थुङ्गे, घतान–पात्लेखेत सडक मर्मत योजना र एक्लेपिपल आमा समूहको निर्माणाधीन भवनको अनुगमन गरिएको बेनी नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले बताए ।


स्थलगत रुपमा अनुगमन गरिएका बेनपाका यी दुवै वडामा सञ्चालित अधिकांश योजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् । नगरपालिका र अनुगमन समितिमार्फत आवश्यकता अनुसार समय समयमा अनुगमन गरिएको बताउँदै उपप्रमुख बरुवालले प्रभावकारी रुपमा योजनाहरु सञ्चालन भैरहेको बताइन् । विकासका योजनाहरुमा स्थानीयवासीले अपनत्व लिनेपर्नेमा जोड दिँदै उनले स्थानीयको चाहना र आवश्यकतालाई मध्यनजर गरेर योजनालाई प्राथमिकता दिइएको बताएकी छिन् ।


अनुगमन कार्यक्रममा उपप्रमुख बरुवालसहित बेनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुली, बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँ, इन्जिनियर बिमलरञ्जन कार्की, सव–इन्जिनियरद्वय हरि आचार्य र अर्जुन थापाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार