मुनामा माविस्तरीय निबन्ध लेखन प्रतियोगिता

प्रताप बानियाँ/म्याग्दी, बुधबार जेठ १५ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनामा मङ्गलबार माविस्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘विद्यालयको स्वास्थ्य र सरसफाई, महिनावारी स्वच्छता कायम गरे हुन्छ सबैको भलाई’ शीर्षकमा माध्यमिक विद्यालयस्तरीय निबन्धलेखन प्रतियोगिता गरिएको हो ।

विश्व महिनावारी दिवसको अवसर पारेर कदम म्याग्दीको आयोजना, गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको आयोजकले जनाएका छन् । कुल ६ जना सहभागी निबन्धलेखन प्रतियोगितामा बुद्धी विकास मावि मुदीका कक्षा ९ मा अध्ययनरत छात्रा ममिता वि.क. प्रथम, धनजनता माविका छात्रा नानुमाया सुनार द्वितीय र चन्द्रज्योति मावि खिबाङका छात्रा ईशा घर्ती तृतीय भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले महिनावारी स्वच्छता कायम गरे रोगबाट मुक्त भई लामो आयु बाँच्न सकिने बताए । उनले पाठेघरको समस्या, यौन संक्रमित जस्ता समस्याका कारण विद्यालय उमेर समूहका किशोरीहरुले विद्यालय छाड्ने हुँदा महिनावारीको समयमा सरसफाई र खानपानमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा कदम म्याग्दीका डाइरेक्टर मुक्ती ढुङ्गानाले महिनावारी हुनु कुनै पाप नभई ईश्वरीय बरदान भएकाले लैङ्गिक समानता कायम गर्न पुरुषले नै महिलाको समस्याको समाधान गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले सचेतनामूलक कार्यक्रमले समुदायका महिलाहरुको समस्याहरुलाई न्युनीकरणमा सहयोग पु¥याउने बताए ।

कार्यक्रमको अवसरमा स्वास्थ्य, सरसफाई र महिनावारीसम्बन्धी चेतनामूलक सन्देश बोकेका निबन्धलेखन तथा वाचन गरिएको थियो । कार्यक्रमको विषयमा वुद्धी विकास माविका शिक्षक चिरञ्जीवी पौडेलले जानकारी गराएका थिए । महिनावारी स्वच्छतासम्बन्धी नारा लगाउँदै गाउँ परिक्रमा समेत गरिएको थियो । कार्यक्रम धवलागिरी–३, मुनाका वडा अध्यक्ष पुर्म पुनको अध्यक्षता र कदम म्याग्दीका जनस्वास्थ्य सहायक निरमाया मिजारको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार