रत्नेचौरका महिलाहरुलाई उद्घोषण तथा कानुनी सचेतना तालिम

प्रताप बानियाँ/म्याग्दी, सोमबार जेठ ६ गते । म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा महिलाहरुलाई उद्घोषण तथा कानुनी सचेतनासम्बन्धी विषयमा तालिम दिइएको छ । बेनी नगरपालिका वडानम्बर १ को आर्थिक सहयोग तथा वडास्तरीय आमा समूह सञ्जाल रत्नेचौरको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तीन दिनसम्म चलेको तालिमको प्रशिक्षक रामबहादुर जिसी, सञ्चारिका समूह गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं पत्रकार जमुना वर्षा शर्मा, म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनी र जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले सहजीकरण गरेका थिए । रत्नेचौरका ६० जना महिलाहरु सहभागी तालिममा उद्घोषण, भाषणकला, कानुनी सचेतना, प्रहरीको भूमिकालगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिम समापन सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले तालिममा सिकेका ज्ञान र सिपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिएकी छिन् । उनले नगरपालिकाले महिलाहरुको व्यक्तित्व तथा नेतृत्व र क्षमता विकासलाई जोड दिएको बताउँदै सचेतनामूलक तालिम तथा कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन् ।

बेनपा–१, रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले वडामार्फत विभिन्न चेतनामूलक कार्यक्रमका साथै महिलासँग सम्बन्धित कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले ग्रामीण भेगका जनतालाई सरकारी सेवासुविधाका बारेमा जानकारी गराउनु आवश्यक रहेको बताएका थिए ।

तालिम समापनसत्रमा प्रशिक्षक जमुना वर्षा शर्मा, नगरपालिकास्तरीय मूल आमा समूहका अध्यक्ष भावना पौडेल, सहभागीद्वय सरितादेवी शर्मा र कल्पना थापाले मन्तव्य राखेका थिए । कार्यक्रम वडास्तरीय आमा समूह सञ्जालका अध्यक्ष अस्मिता बानियाँ बोगटीको अध्यक्षता र सचिव सम्झना पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बेनी नगर कार्यपालिका सदस्य गौरी थापामगर, स्थानीय आमा समूहका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार