शैक्षिक महोत्सव सञ्चालन गर्दै जामुनाखर्क मावि

प्रताप बानियाँ /म्याग्दी, मंगलबार जेठ ७ गते । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक महोत्सव–२०७६ हुने भएको छ । ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने मूल नारासहित गणतन्त्र दिवसको अवसरमा यही जेठ १५ गतेदेखि महोत्सव सञ्चालन गर्न लागिएको हो ।

सोमबार सदरमुकाम बेनीमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयले शैक्षिक महोत्सवको बारेमा जानकारी दिएको छ । महोत्सवबारे जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले महोत्सव उद्घाटनको दिन ‘समृद्धिका लागि शिक्षा’ शीर्षकमा जिल्लास्तरीय अन्तरमावि बक्तृत्वकला र उत्प्रेरणात्मक कक्षा तथा १६ गते हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

यसैगरी १७ गतेका दिन खुल्ला कविता प्रतियोगिता र प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको प्रअ ढुङ्गानाले बताए । उनका अनुसार शैक्षिक महोत्सवको अन्तिम दिन १८ गते कार्यपत्र प्रस्तुतीकरण, टिप्पणी र शैक्षिक बहस, प्रेरक व्यक्तित्वसँगको साक्षात्कार कार्यक्रम तय गरिएको छ । बक्तृत्वकला र खुल्ला कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँचहजार, तीनहजार, दुईहजार र एकहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ ।

त्यस्तै हाजिरीजवाफ प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १२ हजार, नौहजार, छहजार र तीनहजार रुपैयाँका साथै प्रमाणपत्रले सम्मान गरिने विद्यालयले जनाएको छ । प्रतियोगिताहरुमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने छन् । त्यसैगरी विद्यालयको तर्फदेखि शैक्षिक महोत्सवको अवसरमा शिक्षा, साहित्य, संस्कृति र विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्री प्रदर्शनका लागि निःशुल्क स्टलको पनि व्यवस्था गरिएको छ । प्रतिभा प्रदर्शनका लागि इच्छुक प्रत्येक विद्यालयलाई १५ मिनेटको समय उपलब्ध गराइने प्रअ ढुङ्गानाले बताएका छन् ।

शैक्षिक महोत्सवमा त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डाक्टर कर्णबहादुर बानियाँले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा साहित्यकारहरुको लेख, रचना र जीवनीबारे प्रस्तुती पनि रहने बताइएको छ । म्याग्दीमा शैक्षिक महोत्सवको आवश्यकता रहेको महशुस गरी धेरै पहिले नै सोंच बनाइएकाले त्यसै अनुसार महोत्सव आयोजना गरिएको विद्यालयका प्रअ ढुङ्गाना बताउँछन् । महोत्सव सम्पन्न गर्न करिब चारलाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने वडा कार्यालयले एकलाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार