गौचनद्धारा जन्मदिनको अवसरमा टुहुरी बालिकाको अभिभावकत्व ग्रहण (फोटो/ भिडियो सहित )

साधन राम्जाली / म्याग्दी ,शुक्रबार असार ६ गते । म्याग्दीकी एक महिला नेतृले टुुहुरी बालिकाको अभिभावकत्व ग्रहण गरी आफ्नो जन्मदिन मनाउनुभएको छ ।


शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर बेनी नगरपालिका वडा नं ८ बेनी बजार निवासीृ विमला गौचनले बुद्ध एकेडेमीमा अध्ययनरत टुुहुरी बालिका रीतिका जिसीको उच्च शिक्षा अध्ययनसम्मको ग्रहण गर्नुभएको हो ।

नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष समेत रहनुभएकी गौचनले रीतिकालाई उच्चशिक्षासम्म पढ्नका लागि मासिक शुल्कलगाएत अन्य सम्पूर्ण खर्च आफूले व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गर्नुभएको हो । रीतिकाका बुबा बाबु जिसीको गत बर्ष असोजमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको थियो ।

आफ्नो ५८ औं जन्मदिनको अवसरमा समाजसेवी एवम् नेपाल महिला संघ म्याग्दीको अध्यक्ष समेत रहनुभएकी गौचनले विद्यालयमा पुगेर अभिभावकत्व ग्रहण गरी जन्मदिन मनाउनुभएको हो । गौचनले टुहुरी बालिकाको उच्च शिक्षा सम्मको अध्ययनमा लाग्ने खर्चको जिम्मा आफुले व्यहोर्ने बताउनुभयो । आर्थिक अभावकै कारण बालिकाको अध्ययनको यात्रा विचल्लीमा नपरोस् भनि सहयोग गरेको समाजसेवी एवम् नेतृ गौचनले बताउनुभयो ।

‘सानै उमेरमा बुबा गुमाउनु परेको अकल्पनिय दुखद घटनाले मलाई स्तब्ध बनाएको छ,टुहुरी रीतिकालाई उच्च शिक्षासम्म अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च मैले भुक्तानी गर्नेछु ’समाजसेवी एवम् नेतृ गौचनले भन्नुभयो ।

रीतिकाकी आमा शोभाको जिविकोपार्जनमा पनि आफुले सहयोग गर्ने गौचनको भनाई छ । नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष एवम् विभिन्न संघ संस्थामा आवद्ध रहनुभएकी गौचनले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

बुबाको मृत्यु भएपछि विचल्लीमा परेका दुई बहिनीमध्ये रीतिकाकी जेठी दिदी रियानालाई विद्यालयले उच्च शिक्षासम्मको अध्ययनको जिम्मा लिएको बुद्ध एकेडेमीका प्रिन्सिपल ध्रुबसागर शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कान्छी बहिनी रीतिकाका अध्ययनमा लाग्ने खर्च भने आमा शोभाले आफन्तको सहयोग एवम् मजदुरी गरेर जुटाउँदै आउनुभएको थियो । दिदी रियाना कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ भने बहिनी रीतिका कक्षा ४मा अध्ययनरत हुनहुुन्छ ।

रीतिकाकी आमा शोभाले गौचनलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुहुँदै धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । सोही अवसरमा गौचनले दुई बहिनी रियाना र रितिकालाई झोला र कापी कलम पनि वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार