जनकल्याण माविले ६२ औं वार्षिकोत्सव मनायो

प्रताप बानियाँ ,म्याग्दी, विहिबार असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधबार ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा विदाई, विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण र गीतसङ्गीत तथा नृत्य प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयको सर्वोत्कृष्ट शिक्षकतर्फ शिव बानियाँ, दीर्घसेवी शिक्षकतर्फ यामप्रसाद श्रेष्ठ र सेवानिवृत्त पूर्व शिक्षक टिकाराम पौडेललाई सम्मान गरिएको थियो । सम्मानित शिक्षकहरुलाई फुलमाला, अबिर, टिका र खादा लगाई, दोसल्ला ओढाएर, सम्मानपत्रसहित सम्मान गरिएको छ ।

उनीहरुलाई बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सुवेदी, पूर्व अध्यक्ष गणेशबहादुर हमाल र विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेल तथा शिक्षक एवं विद्यार्थीहरुले सम्मान गरेका थिए । उक्त कार्यक्रमको अवसरमा विद्यालयमा कार्यरत हालै सेवानिवृत्त पूर्व शिक्षक टिकाराम पौडेललाई विदाई समेत गरिएको थियो ।

शिक्षकहरुलाई सम्मान गर्दै वडा अध्यक्ष बानियाँले स–साना बालबालिकाको भविष्य शिक्षकहरुको हातमा रहेकाले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले देश विकासको मूल आधार शिक्षा भएकाले शिक्षा प्रदान गर्ने गुरुवर्ग तथा शिक्षकहरुलाई सबै क्षेत्रबाट उचित माया र सम्मान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष हमाल, प्रअ कमलप्रसाद पौडेल, जनकल्याण अक्षयकोषका उपाध्यक्ष नरबहादुर रामदाम, सम्मानित शिक्षकहरु टिकाराम पौडेल, यामप्रसाद श्रेष्ठ र शिव बानियाँले मन्तव्य राखेका थिए । विव्यस अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, शिक्षकद्वय रेशम बानियाँको स्वागत र गीता आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार