दोवामा सार्वजनिक सुनुवाई

बेनी,सोमबार जेठ २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा आइतबार आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीयबासीहरुले दरबन्दि अनुसारका जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा सुधार, टुक्रे योजना कटौती, व्यवसायिक कृषि र पशुपालनको प्रर्वद्धन, रोजगारी सिर्जना, आयोजना व्यवस्थापन खर्च कन्टेन्जेन्सीको पारदर्शी परिचालन गर्न सुझाव दिएका छन् ।

सेवा प्रवाह र योजना कार्यान्वयनमा ढिलासुस्ती भएको, सामाजिक विकृति विरुद्ध अभियान चलाउनुपर्ने पनि स्थानीयको भनाई थियो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आठ वटै वडामा सार्वजनिक सुनुवाइका क्रममा देखिने किसीमको योजना सञ्चालन गर्न सुझाव पाएको बताउनुभयो ।

धेरै जनतालाई लाभ पुग्ने, दिर्घकालिन महत्वका योजना छनौट गर्न र कार्यान्वयनमा सघाउन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाले यस वर्षदेखि डोजरको प्रयोगलाई पारदर्शी र प्रतिस्पर्धी बनाउँदा राज्यको अनावश्यक खर्च हुनबाट जोगिएको उल्लेख गर्नुभयो ।

टुक्रे योजना कटौती गरी असारे विकासको अन्त्य गर्न र विकासलाई दिगो, प्रभावकारी र पारदर्शी बनाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले दरबन्दिको तुलनामा २५ प्रतिशत मात्र जनशक्तिले काम गर्नुपर्दा गाउँपालिकाको सेवा प्रवाहमा असर परेको स्विकार गर्दै उपलब्ध जनशक्तिबाट सहज, छिटो, छरितो सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले गाउँको विकासमा समुदायको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले वडाका सरोकारवालाहरुसंग समन्वय गरेर विकासमा अघि बढाउन खोजेको बताउनुभयो ।

कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, आर्थिक विकास समितिका संयोजक आत्मा तुलाचन, कृषि प्राबिधिक सम्झना खत्री लगायतले सहभागिले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माको स्वागत र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको म्याग्दी मिडिया सोसाइटीका सन्तोष गौतम र राकेश शर्माले सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार