धवलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

पूर्वाधार, कृषि, पर्यटन, उद्यम, शिक्षा र स्वास्थ्यमा प्राथमिकता

सन्तोष गौतम /बेनी शनिबार असार ७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि पूर्वाधार, कृषि, पर्यटन, उद्यम, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मुनामा शनिबार सुरु भएको छैटौ गाउँसभामा अध्यक्ष थमसरा पुनले आगामी आर्थिक वर्षको लागि ८२ बुदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । दरवाङ–ताकम–मुना सडकलाई नियमित सञ्चालन गर्ने, वडा र टोललाई सडक सञ्जालमा जोड्ने, पालिका स्तरीय गौरवका आयोजना सञ्चालन गर्ने, झोलुङ्गे पुल र गुर्जामा आन्तरिक बाटो निर्माण गर्ने तथा ठूला आयोजना सञ्चालन गर्न डिपिआर तयार पार्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

खेतीयोग्य जमिनमा सिचाई सुबिधा विस्तारका लागि कुलो र थोपा सिचाईको व्यवस्था गर्ने, विद्यालय र स्वास्थ्य चौकीका भवन निर्माण तथा मर्मत, विकास आयोजनाको कुल लागतको दुई प्रतिशत उपभोक्ताले नगद लगानी गर्नुपर्ने नीति प्रस्ताव गरेको छ । आवास बिहिन जनतासंग वडा अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने, केन्द्रीय प्रशारण लाइन विस्तारमा जोड दिने, एक घर एक धारा सहितको आयोजना सञ्चालनका लागि सर्वेक्षण गर्ने, पक्कि शौचालय बनाउन आवश्यक सामग्री वितरण गर्ने भएको छ ।

नगदे र फलफुल बालिको व्यवसायिक खेती विस्तारमा प्रोत्साहन गर्ने, कृषि यन्त्र उपकरण खरिदमा पचास प्रतिशत अनुदान दिने, मानव मुत्रको प्रयोग गरि प्राङगारिक खेतीको सुरु गर्ने, एक वटा कोल्ड स्टोर बनाउने, कृषि प्राबिधिकको व्यवस्था गर्ने, पशुपालनसंग सम्बन्धित एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

पशु बिमा लागू गराउने, नमुना पशुफार्म स्थापना गर्ने, स्थानीय जातका पशुको संरक्षणका साथै उन्नत जातको विकासका लागि नश्ल सुधार गर्ने, भकारो सुधार गर्ने कृषकलाई अनुदान दिने, दुध संकलन केन्द्र, बधशाला, मासुपसल र डेरी सञ्चालन गर्न मागको आधारमा पचास प्रतिशत सम्म अनुदान उपलब्ध गराउने भएको छ ।

खेर गइरहेको श्रम र प्राकृतिक स्रोतलाई उत्पादनमा रुपान्तरण गर्न लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्ने र सातै वडामा उद्यम केन्द्र बनाउने भएको छ । खानीहरुको पहिचान र उत्खननका लागि पहल, सञ्चालित खानीहरुलाई कानुनी दायरामा ल्याउने भएको छ ।

पर्यटकीय स्थलहरुको विकासका लागि पदमार्गको प्रचारप्रसार, नयाँ गन्तब्यको पहिचान र आवश्यक पूर्वाधार विकासका लागि गुरुयोजना तयार पार्ने, पालिकामा भित्र्ने पर्यटकको अभिलेख राख्ने, बाह्य पर्यटकको बसाई लम्बाउन सांस्कृतिक संग्रहालय बनाउने र होमस्टे सञ्चालन गर्ने भएको छ । होमस्टेलाई अनुदान दिने जनाएको छ ।

खेलकुदको विकासका लागि पालिका स्तरीय रंगशाला बनाउन प्रदेश र संघीय सरकारसंग पहल गर्ने, कृषि पर्यटनसंगसंगै अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच बढाउन एम्बुलेन्स खरिद गर्ने, विद्यालयमा विद्युतीय हाँजिरी जडान गर्ने, शून्य दरबन्दिका विद्यालयमा सहयोग, भौतिक पूर्वाधार सुधार, एक विद्यार्थी, एक ओखर रोप्ने अभियानलाई निरन्तरता दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार