बेनपामा बहुमतलाई ठेस : निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

बेनी ,बिहिबार जेठ २९ गते । बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको छ ।

बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको हो ।

नगर प्रमुख हरिकुमार श्रेष्ठले कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा समेत १८ जनालाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गर्दै इजलासमा मंगलबार रिट दायर गर्नुभएको थियो ।न्यायाधिश हरिप्रसाद पौडेलको बुधबारको इजलासले २०७६ असार १२ गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै २०७६ जेठ ३ गतेको कार्यापालिका बैठकको निर्णय कार्यान्वयन नगर्नु नगराउन आदेश गरेको हो ।

विवाद उत्पन्न भएपछि नगरप्रमुख श्रेष्ठले स्थगित गरेर बाहिरिएको कार्यपालिकाको बैठकमा उपस्थित नेकपा सम्बद्ध जनप्रतिनिधिले बहुमतको आधारमा शिक्षा, युवा तथा खेलकुद शाखामा गलेश्वर माविका जयराम सुबेदी र पौलत्स्य माविका मोहन बानियालाई व्यवस्थापन गर्ने निर्णय गरेका थिए ।

जेठ ५ गते नगरप्रमुख श्रेष्ठले निर्णय पुस्तिकामा फरक मत जाहेर गर्दै निर्णय कार्यान्वयन नगर्न निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुभएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुमतको निर्णयलाई मान्यता दिन दिएको रायको आधारमा नगरपालिकाले जेठ २१ गते सुवेदी र बानियालाई सम्बन्धित शाखाको जिम्मेवारीका लागि नियुक्ति दिएको थियो ।

सोही विषयलाइ लिएर उत्पन्न विवादका कारण नियमित बैठक, आगामी आर्थिक वर्षको निति ,कार्यक्रम, योजना तथा बजेट प्रभावित बनेको छ । नेकपा सम्बद्ध एक तिहाईभन्दा बढी जनप्रतिनिधिले विशेष नगरसभा बोलाउन माग गर्दै हुलाकमार्फत मंगलबार नगरप्रमुख श्रेष्ठलाई पत्र पठाएका छन् ्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार