राष्ट्रपति महिला उत्थान कार्यक्रमको अनुगमन

प्रताप बानियाँ /म्याग्दी, शनिबार जेठ २५ गते । म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको शुक्रबार अनुगमन भएको छ ।

राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत सञ्चालित बंगुर तथा कुखुरापालन कार्यक्रमको स्थलगत रुपमा अनुगमन गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयको एक टोलीद्वारा डम्बरा नजिकै व्यावसायिक बंगुरपालन गरेका गुमा थापा, देवी विक, थमसरा पुन र टिका रोकाको बंगुर फार्म अवलोकन गरिएको छ । उनीहरु सबैलाई कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १७ हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ ।

चालु वर्षमा म्याग्दीको तीनवटा स्थानीय तहमा महिलासँग सम्बन्धित संस्था तथा महिला सहकारीहरु राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनका लागि छनोट भएका छन् । बेनी नगरपालिकामा साविकको महिला तथा बालबालिका कार्यालय म्याग्दीद्वारा प्रवद्र्धित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्न छनोट भएको थियो । सहकारीले कार्यक्रम अनुसार १५ जनालाई व्यावसायिक कुखुरापालन र १५ जनालाई बंगुरपालन गर्न अनुदान रकम उपलब्ध गराएको छ ।

यसअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई व्यवसायमार्फत आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउन कार्यक्रम ल्याइएको बताइन् । उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाहरुका लागि आएको बताउँदै पेशा तथा व्यवसायबाट महिलाहरु आत्मनिर्भर र व्यावसायिक बन्नुपर्नेमा जोड दिएकी छिन् ।

कार्यक्रममा बेनी नगरपालिका–६, का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले उत्कृष्ट व्यवसाय गर्ने महिलाहरुलाई वडामार्फत पनि आवश्यक कार्यक्रम र बजेट सहयोग गरिने बताए । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीसहित उच्च सरकारी अधिकारीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारीका अध्यक्ष चिना बानियाँले सहकारीको गतिविधि प्रस्तुती गरेकी थिइन् । अध्यक्ष बानियाँको अध्यक्षता, सचिव दिलमाया बिटालुको सञ्चालन र लेखा संयोजक पशुपति शाहीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार