धौलागिरिमा पाए १२० जनाले रोजगारी

बेनी ,मंगलबार असार १७ गते । म्याग्दीकाे धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ ।

पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो ।

मुना, मुदी, मराङ र ताकममा ३०र३० जनालाई सडक सुधार, मर्मत र ग्यावीयन पर्खाल निर्माणमा परिचालन गरिएको गाउँपालिकाको रोजगार संयोजक सुवास थापाले जानकारी दिनुभयो । मुदी र मराङमा सोमबारदेखि आयोजना सुरु भएको हो । ताकम र मुनामा पनि योजना र काममा खटिने मजदुर छनौट भइसकेका छन् ।

उनिहरु पन्ध्र दिनसम्म काममा खटिनेछन् । दैनिक ७५० रुपैयाँका दरले ज्याला उपलब्ध गराउने व्यवस्था छ । गाउँकार्यपालिकाको बैठकले छनौट गरेका योजनामा मजदुरको रुपमा परिचालन गरिएको हो ।

वडा कार्यालय मार्फत बेरोजगार फारम भरेका मध्य घरमा अरुको रोजगार नभएका र विपन्नलाई प्राथमिकता दिएर काममा परिचालन गरिएको छ ।

धवलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २६ लाख रुपैयाँ बजेट आएकोमा तीस प्रतिशत मजदुरका लागि आवश्यक औजार, पोशाक र निर्माण सामग्री खरिद तथा सत्तरी प्रतिशत ज्यालाको रुपमा परिचालन गरिने व्यवस्था छ ।

धवलागिरी गाउँपालिकामा पाँच सय जनाले बेरोजगार फारम भरेका थिए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खटाएका रोजगार संयोजक नआएकाले धवलागिरीमा कार्यक्रम सञ्चालन गर्न ढिलाई भएको हो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले सूचना प्रबिधि अधिकृत थापालाई संयोजक तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार