नेवार समुदायको बर्षे नाच सुरु,पहिलो दिन घण्टाकर्ण पर्व मनाइयाे (फोटो र भिडियो सहित )

म्याग्दी ,मंगलबार साउन १४ गते । म्याग्दीको सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत एक महिने बर्षे नाच सुरु भएको छ । यो नाच नेवार समुदायले देशभर विभिन्न कार्यक्रम गरी हरेक बर्ष मनाउने गर्दछन् ।

बर्षे नाचको पहिलो दिन बेनीमा घण्टाकर्ण पर्व अर्थात गठेमंगल मनाइएको छ । बर्षे नाचलाइ नेवार समुदायले असत्य माथि सत्यको जितको रुपमा पनि लिने गरेका छन् । नेपाल भाषा मंका खल: म्याग्दीले हरेक बर्ष श्रावण चतुर्दशी दिनको अवसरमा घण्टाकर्ण पर्वबाट बर्षे नाच सुरु भइ हरितालिका तिज सम्म एक महिना विभिन्न नाच देखाउने गरेको छ ।


एक महिनाको अवधिमा घण्टाकर्ण, लाखे, घोडा र नागा नागीनी नाच प्रर्दशन गरिने ल्याम्ह ःपुचः का अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । परापुर्वकालमा सर्वसाधारणलाई दुख दिँदै आएको घण्टाकर्ण नाम गरेको राक्षसको गाउँलेहरूले अन्त्य गरेको खुसीयालीमा घण्टाकर्ण पर्व मनाउने चलन रहिआएको नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाई छ ।

घण्टाकर्णदेखि सुरु भएको नाच हरितालीका तिजका दिन राक्षसको रूपधारी लाखेलाई बध गरेपछि नाच सकिने पराम्परा रहेको सांस्कृतिक उपसमितिका संयोजक सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राक्षसको रुपमा चित्रण गरिएको घण्टाकर्णको प्रतिक बनाई मंगलबार सदरमुकाम संगमचोकबाट बजार परिक्रममा गराई म्याग्दी र कालिगण्डकीको किनारमा लगि बध गरी खोलामा बगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार