रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि सामग्रीहरु हस्तान्तरण

प्रताप बानियाँ/म्याग्दी, बुधबार साउन ८ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण भएको छ । आमा सुरक्षा कार्यक्रमका लागि रक्तसञ्चार सेवा प्रवद्र्धन र विस्तार गर्न स्वास्थ्य कार्यालय म्याग्दीले मङ्गलबार आवश्यक सामग्री सहयोग गरेको हो ।

रक्तसञ्चार केन्द्रलाई एलजिडिपि रेफ्रिजेरेटर, रक्तदान कुर्सी, सर्जिकल ग्लोब, बिपिसेट, ब्लडव्याग, वेटमेसिन लगायतका आवश्यक सामानहरु हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त सामग्रीहरु जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी र स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसीलाई हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै जिसस प्रमुख केसीले रेडक्रसमार्फत सञ्चालित रक्तसञ्चार केन्द्रले जिल्लामा आपत्कालीन अवस्थामा रहेका बिरामीहरुलाई रगतको संयोजन गरी उपलब्ध गराएर अत्यन्तै सराह्रनीय काम गरेको बताए । स्वास्थ्य कार्यालय प्रमुख आचार्यले रक्तसञ्चारको सेवालाई आगामी दिनमा थप प्रभावकारी बनाउने उद्देश्यसहित सामग्रीहरु उपलब्ध गराइएको जानकारी दिए ।

कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन शाखा अधिकृत रघुनाथ रेग्मीले सञ्चालन गरेका थिए । यसैबीच जिल्ला अस्पतालमा सुत्केरी महिलाले रगत परीक्षण गरेवापत लाग्ने शुल्कलाई विगत एक वर्षदेखि निःशुल्क बनाइएको छ । यसअघि १ पिन्ट रगतको सातसय ९५ रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार