लोकसेवा आयोगविरुद्ध आदिवासी जनजातिद्धारा विरोध प्रदर्शन

काठमाडौं ,बुधबार साउन ०१ गते । नेपाल आदिवासी जनजाति समुदायले लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् ।

आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गरेका छन् ।

समानुपातिक, समावेशी सिद्धान्त विपरीत खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई दवाव दिएका छन् ।

‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । लोक सेवा आयोगले खुलाएको स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी विज्ञापन संविधानको भावनाअनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिट समेत दायर गरिएको छ । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार