ज्यामरुककोत जाने पदमार्ग निर्माण (भिडियोसहित)

बेनी ,साउन विहिबार साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका २ भकुण्डे देखि ज्यामरुककोत जाने पदमार्ग निर्माण गरिएको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको ३ लाख ६५ हजार ५ सय ९९ रुपैया बराबारको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो ।

सिमेन्टेट ढलान सहितको सिँडी निर्माण गरिएको छ । पदमार्गको एकसय ९० मिटरमा दुवै तर्फ रेलिङ हालेर पदमार्गलाई व्यवस्थित पारिएको छ । २५ मिटर कठिन पहरालाई फुटालेर दुइमिटर फराकिलो पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले बताउनुभयो ।ढिलो गरी बजेट प्राप्त भएपनि स्थानीयवासीको सक्रियताका कारण छोटो समयमा पदमार्ग बनाउन सफल भएको उहाँले बताउनुभयो ।

गत जेठ १३ गते सुरु भएको पदमार्ग असार ८ गते सम्पन्न भएको अध्यक्ष विकले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि कोतमन्दिरमा पुग्न सहज भएको उहाँले बताउनुभयो । ऐतिहासिक ज्यामरुककोत मन्दिरमा पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार पूर्वाधार निर्माणमा जोड दिएको वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा भू– तथा जलाधार व्यवस्थापन कार्यालयको बजेट बाट दुइसय पचास मिटर, गत वर्ष पर्यटन बोर्डको दुइलाख रुपैयामा ५६ मिटर र बेनी नगरपालिकाको ४ लाखमा ७६ मिटर गरी हाल सम्म तिनसय ८२ मिटर पदमार्ग निर्माण भएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

उहाँका अनुसार गाउँदेखि कोतमन्दिर सम्म पुग्ने पदमार्ग सम्पन्न भएको छ । पदमार्गको केही भागमा रेलिङ राख्न बाँकी छ ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको ७ लाख रुपैयामा मन्दिरक्षेत्रमा घेराबार र पदमार्गको वाँकी स्थानमा रेलिङ बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोट सँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको अध्यक्ष थापाले बताउनुभयो । मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनहरुलाई गलेश्वर हुँदै ज्यामरुककोत र यहाँ देखि बागलुङको पञ्चकोट पु¥याउन सकेमा पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

खड्ग भवानी कोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा चुरेन लगायतका १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढि गाउँहरु, सूर्यदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ ।
पदमार्गको अनुगमन

भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरे,पर्वतक सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी म्याग्दीका महेश सुवेदी, २ नम्बर वडाका अध्यक्ष हिराबहादुर थापा, भू– तथा जलाधार व्यवस्थापन इकाई कार्यालय म्याग्दीका भू– संरक्षण अधिकृत शम्भुप्रसाद मिश्र, २ नम्बर वडा सदस्य चन्द्र बहादुर कुँबर,पर्वत र म्याग्दीका पत्रकारहरुले पदमार्गको अवलोकन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार