लमसुङका १० जनालाई सिलाइकटाई तालिम

म्याग्दी,शुक्रबार साउन १७ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङस्थित लमसुङमा बिहीबार सिलाइकटाइसम्बन्धी तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दी र गुड नेबर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

संगम म्याग्दीको आयोजनामा सञ्चालित २ महिने सिलाइकटाई सिपमुलक तालिममा १० जना उद्यमीहरुले सहभागिता जनाएका थिए । तालिममा घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले तालिम प्राप्त उद्यमीहरुका लागि ५ वटा सिलाइकटाई गर्ने मेसिन र प्रशिक्षक शुल्क सहयोग गरेको थियो ।

नमुना उद्यमशिलता महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवा पूर्जाको अध्यक्षता र सदस्य ससिमाया पुनले स्वागत गरेको कार्यक्रम लुलाङका वडा सदस्य केशरबहादुर पूर्जाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । तालिमपश्चात् व्यवसाय सुरुवातका लागि व्यवसायिक योजना अनुसार संगम म्याग्दीले प्रतिव्यक्ति २९ हजार एकसय आठ रुपैयाँ घुम्ती कोष रकम सहकारीमार्फत १२ हजार चारसय ७५ अनुदानस्वरुप प्रदान गर्ने योजना बनाइएको छ ।

नमुना उद्यमशिल महिला बचत तथा ऋण सहकारी संस्था लमसुङमार्फत ६ जना, मुनाल कृषि सहकारी संस्था मुनाबाट ३ जना र हिमाली कृषि सहकारी संस्था गूर्जामार्फत १ जना उद्यमीले सहयोग पाउने भएका छन् । सहयोगपछि उद्यमीहरुले स्थानीयस्तरमै व्यवसायको सुरुवात गरी आर्थिक उपार्जनसहित उनीहरुको जीवनस्तर उकास्नमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार