लाम्मेलामा पहिरोमा परि तीन जनाको ज्यान गयो , गम्भीर ३ घाइतेलाई पोखरा लगियो

तमानखोला, सोमबार साउन २० गते । बागलुङको तमानखोलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेलामा आइतबार पहिरोमा पुरिदा ४५ वर्षीया चन्द्र कुमारी श्रीपाली, ७० वर्षीय अन्सारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पहिरोले घर पुरिदा ४४ वर्षीय ओमबहादुर श्रीपालीको टाउको र कम्मर तलको भागमा चोट लागेको बताईएको छ । उनलाई सोमबार बिहान मात्रै पहिरोबाट उद्धार गरिएको थियो । ४५ वर्षीय मृतक चन्द्र कुमारी श्रीपाली उनको श्रीमति भएको प्रहरी असई पदमबहादुर नेपालीले बताए ।

३४ वर्षीया सुनिता श्रीपालीको छातिमा चोट लागेर घाइते बनेकी छिन् । उनको तीन भाई छोरा समेत पहिरोमा परि घाईते बनेका छन् । छोराहरु १६ वर्षीय अनिल श्रीपालीको दाहिने हात भाँचिएको छ । ९ वर्षीय छोरा राम श्रीपालीको टाउकोमा चोट लागेको छ भने अर्का पाँच वर्षीय छोरा कमल श्रीपालीको मुखमा चोट लागेको बताईएको छ ।

सोही ठाउँकी ४० वर्षीया चित्रादेवी श्रीपालीको छातिमा चोट लागेको बताईएको छ भने ५० वर्षीया अमेसरा श्रीपालीको टाउकोमा चोट लागेको छ । घाइतेहरुलाई सामुदायिक स्वास्थ्य केन्द्र लाममेलामा राखेर प्रथामिक उपचार गरिएको वडा अध्यक्ष उदिन छन्त्यालले बताए । घाइतेहरुको थप उपचारको लागि बुर्तिबाङ जिल्ला अस्पतालबाट स्वास्थ्य कर्मीको टोली जाँदै गरेको बताईएको छ ।

बिर्खा सिर्पाली र कृष्ण बहादुर श्रीपालीको गोठ र ट्वाईलेट पुरिएको असई नेपालीले बताए । सुवालाल श्रीपालीको घरमा क्षति पुगेको छ भने देवेन्द्र श्रीपालीको दुईवटा घर पुरिएको छ । घाइते मध्ये ओमबहादुर श्रीपाली, अनिल श्रीपाली र राम श्रीपालीको अवस्था केही गम्भीर रहेका कारण हेलिकप्टर मार्फत थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा लगिएको हो ।

अन्यको भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट गएको डाक्टरहरुको टोलिले स्थानीय लाममेला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको तमानका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार