शिक्षकलाई अपमान होइन सम्मान गरौं ः दवाडी

प्रताप बानियाँ,
बेनी ,शुक्रबार साउन ३१ गते ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षकहरुलाई अपमान होइन, सम्मान गर्नुपर्ने बताएका छन् । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारासहित नेपाल शिक्षक महासंघ म्याग्दीको प्रथम जिल्ला तथा गाउँ÷नगर अधिवेशनको सदरमुकाम बेनीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सह–अध्यक्ष दवाडीले शिक्षकलाई उत्साहित बनाएर कक्षाकोठाभित्र प्रवेश गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै शिक्षकको सेवा, शर्त र सुविधाको अवस्थाबारे शिक्षा विकास तथा समन्वय इकाइले पनि हेर्नुपर्ने बताए । उनले केही स्थानीय तहले शिक्षकको मानमर्दन हुनेगरी सरुवा, बढुवा र सेवासुविधामा समेत आघात पु¥याएको बताउँदै त्यस्तो नगर्न पालिका र जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

गएको फागुन ९ गते सरकारसँग वार्ता गरी १९ गते शिक्षा ऐन आउने बताएपछि आफूहरुले हस्ताक्षर गरेको भन्दै सह–अध्यक्ष दवाडीले अहिलेसम्म शिक्षा ऐन नआएकोमा गुनासो गरे । उनले शिक्षक महासंघको तर्फदेखि सबै शिक्षकहरुको हक अधिकारका लागि धेरै कामहरु गरिएको जानकारी दिँदै शिक्षा ऐनमा सबै प्रदेशमा शिक्षक अस्पताल स्थापना, राहत शिक्षकहरुको पारिश्रमिक एवं अन्य सुविधा उल्लेख गरिएको बताएका छन् । अब शिक्षकको सबै सेवासुविधा, सरुवा, बढुवा तथा हक अधिकारका विषयबारे सङ्घीय सरकारले गर्ने उनको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्थानीय तहमा ऐन, कानुन तर्जुमा गर्ने सवालमा कानुनको विज्ञ नहुँदा समस्या भैरहेको बताए । उनले शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भए पनि भनेजति कामहरु गर्न नसकिएको भन्दै अधिकार र कर्तव्य सँगसँगै अगाडि लैजान शिक्षकहरुलाई सुझाव दिएका छन् । शैक्षिक वातावरण निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले शिक्षक महासंघले शिक्षकको पेशागत हकअधिकारका साथै शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य जंगबहादुर गर्बुजा, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष सोमनाथ ढुङ्गाना, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशवप्रसाद रेग्मी र अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधि लालबहादुर खत्रीले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदीको अध्यक्षता, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष जयराम सुवेदीको सञ्चालन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन म्याग्दीका अध्यक्ष हुमनाथ पाण्डेको स्वागतमा सम्पन्न भएको थियो । अहिले बन्दसत्र सुरु भएको हुँदा बन्द सत्रबाट शिक्षक महासंघको जिल्ला नगर तथा गाउँस्तरीय महासंघ गठन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार