सेतो गुराँस सहकारीको तीज कार्यक्रम

बेनी,सोमबार भदौ ९ गते ।
काठमाडौंको गोङ्गबुचोक नजिकै सञ्चालनमा रहेको सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी क्षेत्रबाट काठमाडौं गएर बसेका महिलाहरुद्वारा सञ्चालित सहकारीले नजिकिँदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य भूपेन्द्रबहादुर थापाले सहकारीमार्फत महिलाहरुले उत्पादनको क्षेत्रमा लगानी गरेर आत्मनिर्भर बन्नुपर्ने बताए । उनले सहकारीले उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा लगानी गरी महिलाहरुको आयआर्जन वृद्धि गराउनुपर्ने भन्दै आर्थिक कारोबारसँगै समाज परिवर्तन र रुपान्तरणका लागि पनि आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं जिल्ला सहकारी संघका उपाध्यक्ष ज्ञानबहादुर तामाङले सहकारी संघसंस्थाले बचत तथा ऋणको कारोबारसँगै सामाजिक क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताए । सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा कार्की बानियाँले महिला दिदीबहिनीहरुको जीवनमा परिवर्तन ल्याउने उद्देश्यका साथ सहकारी स्थापना गरी सञ्चालन गरिएको बताउँदै उत्पादनमूलक क्षेत्रमा लगानीलाई वृद्धि गरिएको जानकारी दिएकी छिन् ।

कार्यक्रममा सहकारीका शेयर सदस्य तथा घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ, धौलाश्री बहुउद्देश्यीय सहकारीका अध्यक्ष यामबहादुर श्रेष्ठ र तार्केश्वर नगरपालिका काठमाडौंका वडा सदस्य विन्दु थापाले मन्तव्य राखेका थिए । सहकारीका अध्यक्ष कार्कीको अध्यक्षता, उपाध्यक्ष चेतकुमारी खत्रीको स्वागत र सचिव नरकुमारी पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा तीजको अवसरमा दर खुवाउनुका साथै नाचगान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार