दरबाङमा निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )

दरबाङ,शनिबार असोज ११ गते ।
म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । म्याग्दीको पश्चिम मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका दुर्गम भेगलाई लक्ष्यित कार्यक्रमको आयोजना गरिएको हो । शिविर आइतबार सम्म संचालन हुनेछ ।

शनिबार देखी सुरु भएको धवलागिरी गाउँपालिका–६ मराङकी ७९ बर्षिया नरदेबी केसीको दाँतको उपचार गरी शिविरको उद्घाटन गरिएको थियो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले विदेशमा बगाएको पसिनाको कमाइ स्वास्थ्य क्षेत्रमा सहयोग गरेर सरकारको दायीत्व व्यक्तीले बहन गरेको बताउनुभयो । शिविरले आर्थिक अभावका कारण अस्पतालको पहुँच भन्दा बाहिर रहेका दुर्गम गाउँका गरिब विपन्न परिवारका बिरामीलाइ ठुलो सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

शिविर आयोजक समाजसेवी एवम् मोना अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोका मगरले आफ्नो आमाको सम्झनामा अस्पताल जान नसकेका दुर्गम गाउँको गरिब विपन्न परिवारका बिरामीलाइ लक्ष्यित गरी शिविरको आयोजना गरिएको बताउनुभयो । ‘आर्थिक अभावका कारण अस्पताल जान नसकेका दुर्गम गाउँका गरिब विपन्न परिवारका विरामीलाई लक्ष्यित गरेर परिवारको सहयोगमा आमा पबिसरा रोकाको सम्झनामा शिविरको आयोजना गरिएको हो’ रोकाले भन्नुभयो । छोराछोरीले चाडपर्व र जन्मदिनमा पाएको उपहारबाट बचत भएको पैसा शिविरका लागि सहयोग गरेको जानकारी दिनुभयो । विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका रोकाले आगमी दिनमा पनि सामाजिक सेवामा सक्रिय हुने बताउनुभयो । साथै उहाँँले सोही अवसरमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले स्वास्थ्य क्षेत्रमा रोका परिवारले पु¥याएको योगदान समाजका लागि उदाहरणिय भएको बताउनुभयो । सरकारको दायित्व परिवारले लिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष रोका मगरको अध्यक्षता ,स्वास्थ्य केन्द्रका पुर्व अध्यक्ष हिरा बहादुर पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । शिविरमा दन्त चिकित्सक राजेन्द्र राना मगरको नेतृत्वमा सुर्या थापा लगायत चार जनाको टोलिले सेवा दिएका छन् ।

शिविरमा दन्त परिक्षण,कुहिएको,किराले खाएको दाँत झिक्ने र भर्ने, निशुल्क औषधी वितरण संगै दाँत सम्बन्धी परामर्श लगायतका सेवा उपलब्ध हुने आयोजकले जनाएको छ । कार्यक्रममा आयोजक रोका संगै उहाँकी श्रीमति तिका ,छोरी सृष्टी र छोरा समित रोका, सहयोगी संस्था दरबाङ स्थित लायन्स क्लब,लियो क्लब ,आमा समुह , युवा क्लब,इलाका प्रहरी कार्यालय दरबाङ लगायत विभिन्न संघ संस्थामा कार्यरत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । शिविरको पहिलो दिन तीन सय भन्दा बढीले सेवा लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार