रघुगंगामा विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम

बेनी, बुधबार भदौ २५ गते । रघुगंगा गाउँपालिकाले विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम सुरु गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले जनजागरणकै रुपमा कार्यक्रम अघि सारेको छ । कार्यक्रम अन्तरगत विद्यालयको स्थलगत अनुगमन, अवलोकन गरि शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुसँग अन्तरक्रिया गरेर समस्या पहिचान, सुझाव संकलन र निर्देशन दिन थालिएको छ ।

अध्यक्ष स्तरको निर्णय र विद्यालय सुशासन तथा शिक्षक व्यवस्थापन कार्यबिधि २०७६ अनुसार बुधबार ज्ञानोदय मावि मौवाफाँटबाट कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

सबै विद्यालयको स्थलगत अनुगमन पश्चात शिक्षक दरबन्दि मिलान र व्यवस्थापन गर्ने तयारी गरिएको छ । यसै आर्थिक वर्षबाट गाउँपालिकाले पारित गरेको करार शिक्षक नियुक्त गरिने भएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, गाउँ शिक्षा समितिका सदस्य रिमबहादुर कटुवाल क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत थापा र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको उपस्थितीमा अनुगमन गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय वुद्धीजिवी तथा सरोकारवालाको उपस्थिति थियो । शैक्षिक उपलब्धि, प्रशासन, पूर्वाधार, अभिलेख व्यवस्थापन, लेखा परिक्षण लगायतका विषयमा छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार