बुलबुलले १११औँ लक्ष्मी जयन्ती मनाउने

बेनी,मंगलबार कात्तिक ५ गते ।
म्याग्दी जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले १११ औँ लक्ष्मी जयन्तीको अवसर पारेर यही कार्तिक ०९ गते ‘बुलबुलमा हामी’ नाम साहित्यिक कार्यक्रम गर्ने भएको छ । यस वर्ष कार्तिक दश गते देवकोटाको १११ औँ जन्मतिथि रहेको भएपनि म्याग्दी साहित्य सञ्चारको आयोजना र नवोदित साहित्यिक वाचनालय कतार र अनेसास कतार शाखाको सहआयोजनामा ९ गते म्याग्दीको बेनी बजारमा साहित्यिक कार्यक्रम गरेर महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने प्रयास गरेको हो ।

संस्थाको स्थापना कालदेखि नै फरकफरक साहित्यिक कार्यक्रम गर्ने गरेको म्याग्दी साहित्य सञ्चारले यसपटक चर्चित युवा गजलकार प्रदिप रोदन र नकुल पौडेलका गजलहरु सुन्ने वातावरण मिलाएको हो । रोदन स्थापित गजलकार हुन् भने पौडेल युवाहरुका माँझ लोकप्रिय रहेका छन् । ‘बुलबुलमा हामी’मा गजलकार रोदन र पौडेलको साथमा स्थानीय गजलकारहरु नारायण अभिलाषि, इन्द्र वियोगी, अमर स्पन्दन, विभा ढुङ्गाना र कान्ति पौडेलका गजलहरु पनि सुन्न पाइनेछ । हरेक वर्षको कार्तिक महिनाको औंसी तिथिमा स्वदेश तथा विदेशमा रहेका नेपाली साहित्यमा रुची राख्ने साहित्य प्रेमीहरुले विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गरी लक्ष्मी जयन्ती मनाउने गर्दछन् । नेपाली साहित्यमा रुची राख्ने साहित्य प्रेमीहरुले लक्ष्मी जयन्तीलाई विशेष उत्सवको रुपमा लिँदैे नेपाली साहित्य विभिन्न साहित्यिक कार्यक्रम गरेर देवकोटालाई सम्झने गर्दछन् ।

महाकवि देवकोटाको जन्म १९६६ साल कार्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार