गलकोटमा निशुल्क आँखा शिविर २ सय ४४ जना लाभान्वित

थम्मन थापा
बागलुङ,बुधबार कात्तिक २० गते ।

गलकोट नगरपालिका ७ मल्ममा १ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । मल्म सप्ताहघाटमा सञ्चालन भएको शिविरमा २ सय ४४ जनाले निशुल्क आँखा चेक जाँच गराएका छन ।

शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिनुभयो । शिविरमा मोतिया विन्दुलाई आवश्यक परामर्श गरि शल्यकृया गर्न विरामीलाई सुझाव दिईएको विशेषज्ञ खत्रीले बताउनु भयो ।

त्यस्तै दृष्टि दोष भएकाहरुलाई आँखा जाँच गरी चश्मा वितरण गरिएको छ भनें अन्य सामान्य समस्या भएकाहरुलाई आवश्यक औषधी निशुल्क प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि निशुल्क आँखा शिविर सञ्चालन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । शिवर सञ्चालनको लागि गलकोट नगरपालिका ७ मल्म आँगाखेत हाल जापानमा कार्यरत दिदी भाई सुवास खत्री र शोभा खत्रीले प्रायोजन स्वरुप नगद रु २० हजार सहयोग प्रदान गर्नु भएको थियो ।

शिविर गलकोट नगरपालिका वडा नं ७ को समन्वय र गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्य रहेको थियो । सामाजिक संस्थाले स्थानिय स्तरमा निशुल्क शिविर सञ्चालन गरिनुले आम नागरिकको आँखा जस्तो संवेदनसिल अंगको लागि परोपकारी काम भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । घर आँगनीमा निशुल्क आँखा शिविर सञ्चालनले आफुहरुलाई राहत मिलेको भन्दै स्थानियले खुसी व्यक्त गरेका छन । निशुल्क स्वास्थ्य शिविरमा मल्म स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले आवश्यक सहयोग गरेका थिए । शिविरमा दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री, अप्टिसियन उदय खडका र व्यवस्थापनमा सहयोग पुराउनु भएका सन्त बहादुर खत्रीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार