गलकोट घुम्टे महोत्सवको पुर्व सन्ध्यामा दुलही झैं सिँगारियो गलकोट

थम्मन थापा
बागलुङ,मंगलबार मंसिर ३ गते ।

बुधबार देखि दोस्रो गलकोट घुम्टे महोत्सव शुभारम्भ हुँदै छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवलाई भव्य अनि सभ्य रुपमा सफल पार्न अहिले सबै क्षेत्रबाट आवश्यक गृहकार्य भईरहेको महोत्सव आयोजक समितिले जनाएको छ ।

भोली देखि गलकोट नगरपालिका ५ हरिचौर बसाह फाँटमा सञ्चालन हुने महोत्सवको पुर्व सन्ध्यामा गलकोटको मुख्य बजार हटियालाई दुलही झैं सिँगारिएको छ । दोस्रो गलकोट घुम्टे महोत्सवमा आउने दर्शक तथा पर्यटकहरुको स्वागतको निमित्त गलकोट क्षेत्र यति बेला दुलही जस्तै सिँगारिएको छ । दोस्रो गलकोट घुम्टे महोत्सवलाई लक्षित गरि गलकोटका चोक टोल तथा गाउँहरु सरसफाई सँगै झिलिमिली पारिएको छ । महोत्सवमा आउने दर्शक, अतिथि पाहुनाहरु र पर्यटकहरुलाई स्वागत गर्नको निम्ति गलकोटलाई सुन्दर बनाईएको छ ।

गलकोटको हटिया, हरिचौर बजार लगायत विभिन्न टोलटोलहरु यतिबेला महोत्सव प्रचार प्रसार सामाग्री सँगै ध्वजा पताकाले रङगीचङगी भएका छन । गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका प्रत्येक वडामा डिपिआर तयार गरि गलकोटलाई पर्यटकीय हवको रुपमा विकास गर्ने उद्येश्य सहित झण्डै १३ वर्ष पछि दोस्रो गलकोट घुम्टे महोत्सव आयोजना गरिएको हो ।

भोली देखि सञ्चालन हुने महोत्सवको लागि महोत्सव स्थलमा रमाइलो मेला, बाल उद्यान, पिङहरु र स्टल निर्माण भईसकेको छ, भने महोत्सव स्थल वरपर सरसफाई सँगै महोत्सव अवलोकनको लागि आउने दर्शकको स्वागतको लागि बसाहफाँट आसपासका क्षेत्र झिलीमिली बनाइएको छ । महोत्सव स्थल सम्म पुग्न दर्शक तथा पर्यटकलाई लक्षित गरि यातायात सहज आवागमनको निमित्त अवरुद्ध मोटरबाटो मर्मत गरि सुचारु गरिएको छ । त्यस्तै गलकोट नगरपालिकाका प्रत्येक वडामा महोत्सव प्रवेशद्धारहरु निर्माण गरिएको छ ।

दर्शकले महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोदोहोरी गायक गायिकाहरु, पप, आधुनिक गायक गायिकाहरु, हाँस्य व्यङ्ग्य कलाकारहरु सँगै मोडलहरुको प्रस्तुतिमा रम्न पाउने छन । दोस्रो गलकोट घुम्टे महोत्सवमा गलकोटका पुराना र मौलिक संस्कृतिका गीत तथा नृत्यहरु (साँस्कृतिक झाँकी )प्रदर्शन, स्थानीय हस्तकलाका सामग्री प्रदर्शन, विभिन्न जातजातीको भेषभुषा प्रदर्शन, जडीबुटी प्रदर्शन, व्यवसायिक वस्तु प्रदर्शन, बाल उद्यान, पर्यटकीय स्थलको तस्विर समेत अवलोकन गर्न पाउने आयोजकले जनाएको छ । गलकोटमा विगतमा भएका महोत्सव भन्दा यो महोत्सव फरक हुने भन्दै आयोजकले सम्पुर्णलाई महोत्सव अवलोकन गर्न अनुरोध समेत गरेको छ । महोत्सवको सम्पुर्ण प्राविधिक व्यवस्थापन हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको संयोजक मोहन केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार