जुरेस र बालक्लबद्धारा विपन्न परिवारका विद्यार्थीलाई पोषाक सहित शैक्षिक सामाग्री सहयोग

बेनी ,बुधबार मंसिर ४ गते ।

जिल्लाको बेनी नगरपालिका –८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुले गरिब तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय पोषाक सहित शैक्षिक सामाग्री सहयोग गरेका छन् ।विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल र शुभदर्शन बालक्लबको नेतृत्वमा संकलित तीन हजार रुपैयाँ बराबरको विद्यालय पोषाक सहित शैक्षिक सामाग्री बेनपा –७ मंगलाघाट बस्दै आउनुभएका गरिब तथा विपन्न लक्ष्मी बिकका तीन जना छोराछोरीलाई सहयोग गरेका हुन् ।

जिल्लाको धवलागिरी गाउँपालिका –१ गुर्जा घर भई हाल बेनीमा बसोबास गर्दै आउनुभएकी लक्ष्मी बिकका छोरीहरु सुस्मिता ,अस्मिता र छोरा शुसिल बिकलाई एक कार्यक्रमका विच जुरेस र बालक्लबले संयुक्त रुपमा हस्तान्तरण गरेको हो । विद्यालय पोषाक र शैक्षिक सामग्री विद्यालयका प्रअ सुरेन्द्र प्रसाद केसी ,शिक्षिक, जु्रेस अध्यक्ष सुस्मिता परियार र शुभदर्शन बालक्लबकी अध्यक्ष दिपिका बिकले सुस्मिता,अस्मिता, शुसिल बिक र अभिभावक लक्ष्मीलाई हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयमा भर्ना भएका विपन्न विक परिवारलाई नियमित विद्यालय आउने वातारण सृजना गर्नका लागि पोषाक सहित आवश्यक शैक्षिक सामाग्री सहयोग गरिएको बालक्लब अध्यक्ष दिपिकाले बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट संकलित रकमबाट सो सामाग्री सहयोग गरिएको जुरेस अध्यक्ष परियारले बताउनुभयो ।

विद्यालयका प्रअ केसीले विद्यालय पोषाक सहित आवश्यक शैक्षिक सामाग्री सहयोग संगै आर्थिक रुपमा विपन्न तथा गरिब परिवारका विद्यार्थीलाई अध्ययनमा सहज हुने बताउनुभयो । सहयोग प्रति लक्ष्मी विकले विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । बेनी नगरपालिका –७ मंगलाघाटमा डेरामा बस्दै आउनुभएका लक्ष्मी र उहाँका श्रीमान मजदुरी गर्दै आउनुभएको छ । क्लबकी अध्यक्ष विकको संचालन र जुरेस अध्यक्ष परियारको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

https://youtu.be/2lgMk721rI4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार