सुकेका ढुंगेधारामा पानी झार्ने तयारीमा ललितपुर महानगर

ललितपुर ,मंगलबार मंसिर ३ गते । ललितपुर महानगरपालिकाले सुकेका ढुंगेधारामा पुनर्निमाण गर्ने योजना अघि बढाएको छ । ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यस्तो योजना अघि बढाएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने ‘सहरको सुन्दरता अन्तर्गत मृततुल्य ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं ।’

ललितपुर महानगरको वडा नं ६ र १७ का ढुंगेधारामा पानी ल्याउन उपभोक्ता समिति गठन गरेर छिट्टै काम थालिने प्रमुख महर्जनले बताए । वडा नं ६ मा सुन्धारा, १७ मा सिन्चाहिटी र मनी मण्डप हिटी रहेका छन् । ढुंगेधारामा पानी ल्याउन तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै प्रयागलाल जोशीले ढुंगेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको बताए । उनले भने ‘मुहान संरक्षण र वर्षातको पानी संकलन गरेर यी धारामा पानी ल्याउँछौ ।’ यी तीन वटा धाराको मुहान नाय्ख्यमा छ ।

जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहान माथि भए पानी सजिलै आउने बताए । ढुंगेधारामा पानी ल्याउन राजकुलोलाई पुनर्जिवित गर्नुपर्र्ने उनको भनाई छ । टिकाभैरवमा रहेको राजकुलो सुनाकोठीसम्म व्यवस्थित छ । जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदन अनुसार महानगरभित्र रहेका ११ ढुंगेधारमा पानी ल्याउन सकिन्छ । महानगरका इन्जिनियर रुद्र गौतमले महानगरको योजनाले सहरलाई सजीव र सुन्दर बनाउने बताए ।

उक्त योजनालाई सफल बनाउन स्थानीय बासिन्दालाई जिम्मेबार बनाउनुपर्ने बताए । उनले भने, ‘ यसो गर्दा तत्काललाई मात्रै होइन, संरक्षणको लागि समेत सहयोग पुग्छ । ’ कार्यक्रममा वडा १५ का अध्यक्ष सुदर्शन मिश्रले ढुंगेधाराको संरक्षणमा गर्न कानुन निर्माण गर्नुपर्ने बताए । त्यस्तै वडा नं १३ का अध्यक्ष गणेश केसीले ढुंगेधारा संरक्षणको लागि स्थानीयको सहयोग महत्वपूर्ण हुने बताए । अध्ययन प्रतिवेदन अनुसार ललितपुर महानगरभित्र ४७ वटा ढुंगेधारा छन् । क्यापिटल नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार