न्युु दरबाङ्ग महिला सहकारीको अध्यक्षमा कार्की ,निउरेको घर फिर्ती अभियानलाई आर्थिक सहयोग

बेनी,आइतबार मंसिर २२ गते ।
म्याग्दीको मालिका गाउँपालिका–६दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा ममसरा कार्की चयन हुनुभएको छ । संस्थाको शनिबार दरबाङ्गमा सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट कार्की अध्यक्षमा चयन हुनुभएको हो ।

अध्यक्ष कार्की संगै कार्यसमितिको उपाध्यक्ष गौमति चापाँगाइ ,सचिव लक्ष्मी सापकोटा ,कोषाध्यक्ष हरिमाया विक तथा सदस्यहरुमा मिना फगामी ,सुजन पुन ,कृष्ण तुलाचन ,चित्रा पुन ,लेसकुमारी घर्ति शर्मिला पुन र चन्द्रमाया गुरुङ्ग चयन हुनुभएको संस्थाकी प्रवन्धक सोलिना किसानले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै गाउँपालिकाकी उपाध्यक्ष खर माया विटालुले बचतले महिलाहरुलाई आर्थिक रुपमा बलियो र शसक्त बनाउँदै लैजाने बताउनुभयो ।

पुँजि लगानी गरी सहकारीले महिलाहरुलाई व्यवसायीक बनाइ आत्मनिर्भर बनाउनमा मदत गर्नुपर्नेमा जोड दिनुभयो । साथै सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वडा अध्यक्ष सन्तनाथ सुवेदी ,सिद्ध आधारभुत विद्यालयका प्रअ मोतिराज उपाध्याय ,जनप्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर कार्की र केबी एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलकी प्रिन्सीपल लक्ष्मी थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

निवर्तमान कोषाध्यक्ष गौमति चापागाईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा सात सय ३८ जना शेयर सदस्य रहेको संस्थाको ३३ लाख ४५ हजार दुई सय रुपैयाँ शेयर पुँजी रहेको छ । ४६ लाख ६० हजार ७०६ रुपैयाँ बचत रहेको संस्थाले ६७ लाख ९६ हजार ५ सय नब्बे रुपैयाँ लगानी गरेको छ ।

यसैगरी गत बर्षमा एक करोड २९ लाख २८ हजार ८२९ रुपैयाँ कारोबार गरेको संस्थाले १५ लाख ६३ हजार ३६१ रुपैयाँ मुनाफा कमाएको छ । संस्थाकी निवर्तमान अध्यक्ष याममति रोका मगरको अध्यक्षता, उपाध्यक्ष सुनमाया गुरुङ्गको स्वागत तथा संचालक सदस्य लक्ष्मी सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । निवर्तमान सचिव कार्कीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक हरिमाया विकले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाले शेयर सदस्य हरिमाया निउरेका छोरा साउदी जेलमा रहनुभएका दिच्यामका राजुकुमार बचाउ अभियानलाइ ४ हजार एक सय रुपैयाँ र दुखु निवासी दुर्घटनामा परि घाइते हुनुभएका शेयर सदस्य मनिषा गुरुङ्गका श्रीमान निलप्रसाद गुरुङ्गलाई ४ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थामा ३१ वटा स्वालम्बी महिला समुह आवद्ध रहेको संस्थाकी सचिव सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार