पूर्णगाउँमा होमस्टे सञ्चालनको तयारी, स्थानीयलाई तालिम

प्रताप बानियाँ
म्याग्दी, सोमबार माघ २० गते । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँमा होमस्टे (घरबास) सञ्चालनको तयारी थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि, स्थानीय उत्पादनको प्रचारप्रसार तथा बिक्रीवितरण र स्थानीयको आयआर्जन बढाउने उद्देश्यसहित होमस्टे कार्यक्रमलाई अगाडि बढाइएको हो ।

होमस्टे सञ्चालनका लागि दुई दिनसम्म पूर्णगाउँका स्थानीयवासीलाई होमस्टे कार्यक्रमको व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोष काठमाडौंको आर्थिक सहयोग र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा, म्याग्दीको आयोजनामा होमस्टे व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो । तालिममा प्रशिक्षक घनश्याम गिरीले होमस्टे व्यवस्थापन, अर्गानिक खाना र अतिथि स्वागत तथा सत्कारको विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए ।

तालिमको उदघाटन गर्दै मङ्गला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले गाउँपालिका भित्र रहेका पर्यटकीय गन्तव्यका क्षेत्रमा गाउँपालिकामार्फत आवश्यक पूर्वाधारहरु निर्माणमा जोड दिइएको बताएका छन् । उनले नागरिकले राज्यलाई कर तिर्न सक्ने वातावरण बनाउन गाउँपालिकामार्फत विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै कार्यक्रमको स्थानीयवासीले अपनत्व लिएर सोही अनुसार अगाडि बढ्नुपर्ने धारणा राखे ।

तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा पूर्ण रुपमा उतार्न सहभागीलाई सुझाव दिएकी छिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरिहर थापाले होमस्टे कार्यक्रममार्फत स्थानीयको आयआर्जन बढाउनुपर्ने भन्दै स्थानीय उत्पादनलाई जोड दिन आग्रह गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीका अध्यक्ष लिलाराम गौतमले महासंघको समन्वयमा उद्योगी, व्यवसायी र स्थानीयलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए । कार्यक्रममा मंगला गाउँपालिकाका कार्यकारी सचिव राजेन्द्र आचार्य, पत्रकार प्रताप बानियाँ र होमस्टे तालिममा सहभागी टिकाकुमारी आचार्यले मन्तव्य राखेका थिए । महासंघका जिल्ला महासचिव अमर बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्णगाउँ–टोड्के होमस्टे सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार