मंगला माविले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

बेनी, शनिबार फागुन ०३ गते । २२ वटा पदक जित्दै मंगला मावि बाबियाचौरले पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।

बाबियाचौरमा शनिबार सम्पन्न प्रतियोगितामा बिजयी भएको मंगला माविले ११ स्वर्ण, १० रजत, १ कास्य पदक जित्दै बिजेता बनेको हो । मंगला माविले गत वर्षको पहिलो राष्ट्रपति रनिङ्ग शिल्डको पनि उपाधि जितेको थियो ।

६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेको त्रिभुवन मंगला मावि ¥यालेखोर उपबिजेता भएको छ । ५ स्वर्ण, ४ रजत र ८ कास्य पदक जितेको महेन्द्ररत्न मावि बरंजा तृतीय भएको छ ।

डनिङ आवासीय माविले ५ स्वर्ण, ४ रजत र २ कास्य, दिपशिखा मावि कुँहुँले २ स्वर्ण, १ रजत र १० कास्य, मालिका जनहित बोर्डिङले १ स्वर्ण र २ रजत प्राप्त गरेको प्रतियोगिताको कार्यसम्पादन उपसमितिका संयोजक सिजन रोकाले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्र भलिबल तर्फ मंगला मावि प्रथम, डनिङ आवासीय मावि दृतीय र महेन्द्ररत्न मावि तृतीय भएका छन् । छात्रा भलिबलमा महेन्द्ररत्न मावि प्रथम, सिद्धशान्ति मावि हिँदी दृतीय र शिशुकल्याण मावि अर्मन तृतीय भएका छन् ।

यसै गरी कवड्डी छात्र तर्फ मंगला प्रथम, शिशुकल्याण दृतीय र महेन्द्ररत्न मावि तृतीय भएका छन् । छात्रा तर्फ महेन्द्ररत्न प्रथम, मंगला मावि दृतीय र डनिङ बोडीङ तृतीय भएका छन् । बिजेतालाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल सहित नगद पचास हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।

दोस्रो र तेस्रोलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार र बीस हजार रुपैयाँ नगद समेत प्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

फागुन १ गते जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभएको प्रतियोगितामा ९ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट छनौट भएका उत्कृष्ट खेलाडीलाई फागुन ७ र ८ गते बेनीमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराइने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार