हिलापोखरीमा नवनिर्मित नौमतीबाजा केन्द्रको भवन उद्घाटन

गोपाल आचार्य
ताकम, आइतबार माघ १९ गते ।
धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा नौमति बाजा केन्द्रको भवन निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक र स्थानीयको श्रम तथा नगद सहयोगमा सभाहल सहितको एक कोठे भवन निर्माण भएको हो । भवन निर्माणमा छ लाख ५३ हजार ३१२ रुपैयाँ लगानी भएको केन्द्रका कोषाध्यक्ष मनदेवी दमाईले बताउनुभयो ।

गाउँपालिकाले तीन लाख ८४ हजार रुपैयाँ सहयोग गरेको थियो । स्थानीयबासीले ७६ हजार दुई सय र दाताहरुबाट एक लाख पचास हजार रुपैयाँ चन्दा जुटाउनुका साथै ४३ हजार ११२ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

भवन निर्माणका लागि केन्द्रका अध्यक्ष कुलप्रसाद दमाईले तीन लाख रुपैयाँ पर्ने जग्गा पचास हजार रुपैयाँमा उपलब्ध गराउनुभएको थियो । भवनमा बाजा भण्डारण र संग्रह गरिने केन्द्रको योजना छ । केन्द्रमा ३६ घरधुरी आवद्ध छन् ।

पुराना बाजाहरु संग्रह गरेर राख्ने तयारी भएको छ । तालिम, बैठक, भेला सञ्चालन गर्न पनि भवन भएपछि सजिलो हुने बताइएको छ । हिलापोखरीको नौमति बाजा समूह पश्चिम म्याग्दीमा प्रसिद्ध छ् ।

भवनको उद्घाटन धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले उद्घाटन गर्नुभएको थियो । उहाँले परम्परागत कला, संस्कृतिको संरक्षणमा पालिकाले जोड दिएको बताउनुभयो ।

मौलिक संस्कृति समाजको सम्पति भएको उहाँको भनाई थियो । कार्यक्रममा वडा अध्यक्ष कलानिधि शर्मा, वडा सदस्य देवबहादुर थापा, बालकुमारी गोतामे, नरकमारी बुढाथोकी, हेम आवासीय नमुना माविका प्रअ शेरबहादुर केसी, जगन्नाथ आधारभूत विद्यालयका शिक्षक भेषनाथ गौतम र ताकमका युवा तेजेन्द्र थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

केन्द्रका अध्यक्ष कुलप्रसाद दमाईको अध्यक्षता र सचिव विकास परियारको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय बासी समेत रहनुभएका गाउपालिकाको पशु सेवा शाखाका कर्मचारी तारानाथ शर्माले गर्नुभएको थियो । जग्गादाता र चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार