मंगला गाउँपालिकाद्धारा कोरोना रोकथाम गर्न तीस लाख बिनियोजन,अध्यक्ष रोकाद्धारा एक लाख रुपैयाँ सहयोग

बेनी, शुक्रबार चैत २१ गते । म्याग्दीको मंगला गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि तीस लाख रुपैयाको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।

file photo

बाबियाचौर स्थित गाउपालिकाको कार्यालयमा बिहीबार अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सो रकम बिनियोजन गर्ने निर्णय गरेको हो ।

कोषमा अध्यक्ष रोकाले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको गाउपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । यसैगरी पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले १५ हजार र मंगला–२ भाइवाङका चुडामणी गौतमले चार हजार ५०५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

यसैगरी मंगला गाउपालिकाका विभिन्न बस्तीमा लकडाउनको कार्यान्वयन र कोरोना रोकथामका लागि सचेतना फैलाउन १६ जना स्वमसेवक कार्यदल परिचालन गरिएको छ । स्वयमसेवकहरुलाई गाउपालिकाका अध्यक्ष रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो ।

लकडाउनका कारण प्रभावित भएका ज्याला मजदुरी गरि जिवन निर्वाह गरेका व्यक्तिहरुलाई राहत वितरणका लागि उनिहरुलाई वडा कार्यालय मार्फत आवेदन फारम भर्न अनुरोध गरेको छ । यसैगरी जथाभावी आफूखुसी राहत बाड्न वितरण रोक लगाउने जिल्ला स्तरीय निर्णय अनुसार गाउपालिकाबाट राहत उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।

बाबियाचौरको मंगला माविमा स्थापना गरिएको क्वारेन्टिनमा ९ जनालाई राखिएको छ । ५ वटा वडा रहेको मंगला गाउपालिकामा पछिल्लो एक महिनायता विदेशबाट आएका ३० जना मध्य १५ दिन नपुगेकालाई क्वारेन्टिनमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार